मध्यपहाडी राजमार्गको ठाउँ–ठाउँमा पहिरो

मध्यपहाडी राजमार्गको ठाउँ–ठाउँमा पहिरो


काठमाण्डु-लगातारको वर्षाका कारण मध्यपहाडी राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ ।

मध्यपहाडी राजमार्ग अन्तर्गत खुर्कोट–घुर्मी सडकखण्डका ठाउँ–ठाउँमा पहिरो खसेको छ । पहिरोमा परी एउटा मेसिन बोक्ने टेलर पुरिएको स्थानियले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार राजमार्ग अन्तर्गत गोलञ्जोर गाँउपालिकाको कालिआप, अक्करेभिर, कुडुले लगायतका स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लले राजमार्गकै सुमनाम भन्ने स्थानमा समेत पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको बताए ।

मध्यपहाडी राजमार्गको गोलञ्जोर गाँउपालिका १ कालिआप भन्ने स्थानमा माथिबाट आएको पहिरोसँगैको लेदोले प्र २–०३–००१ ख ७१४४ नम्बरको टेलर पुरिएको पनि उनले बताए ।

पहिरोमा पनि भने कुनै मानवीय क्षति नभएको भन्दै उनले राजमार्गसँग जोडिएर खनिएका ग्रामिण सडक व्यवस्थित नहुँदा लेदो आएर राजमार्गमा बस्ने भएकाले सामान्य वर्षामै पनि मध्यपहाडी राजमार्ग अवरुद्ध हुने गरेको बताए ।