काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन् । राष्ट्रपति पौडेल जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज स्वदेश फर्किएका हुन् । स्वीट्जरल्यान्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते त्यसतर्फ प्रस्थान गरेका राष्ट्रपति नौ दिन लामो भ्रमण सकेर स्वदेश फर्किएका हुन् ।
राष्ट्रपति पौडेललाई त्रिभुवन विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीहरूलगायतले स्वागत गरेका छन् । यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्र्यांक वाल्टर स्टाइनमायरबिच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता भएको थियो ।
भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको थियो । दुई पक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।
सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको पहिलो भ्रमण भएको बताइएको छ ।




प्रतिक्रिया