काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारमा रहेको एउटा पार्टीलाई आफ्नो अध्यक्षलाई सहकारी ठगीबाट जोगाउने चिन्ता रहेको आरोप लगाएका छन् ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै सहकारी ठगीबाट सभापति रवि लामिछानेलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता रहेको आरोप लगाए ।
उनले भने, ‘एउटा दललाई कसरी हुन्छ आफ्नो दलको अध्यक्षलाई सहकारी ठगीबाट जोगाउन सकियोस्, कारबाहीको प्रक्रियाबाट जोगाउन सकियोस्, त्यति मात्रै चिन्ता छ ।’
सत्तारुढ दल नेकपा एमालेलाई गिरीबन्धु टी–इस्टेटमा अध्यक्षलाई कसरी जोगाउने भन्ने चिन्ता रहेको उनले संकेत गरे । उनले भने, ‘कसरी हुन्छ आफ्नो अध्यक्ष जोडिएको गिरीबन्धुको ठगीबाट जोगाउन सकियोस् भन्ने छ ।’
महामन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बहुमत जोगाउने चिन्ता रहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीलाई गणित कसरी रक्षा गर्ने भन्ने मात्रै छ । प्रधानमन्त्रीको पद सानदार, दमदार पनि हो भन्ने कुरा बिर्सिनुभएको छ । प्रधानमन्त्रीजी उपप्रधानमन्त्रीले बोलेको कुराको जवाफ दिएर बस्नुपरेको छ । उपप्रधानमन्त्रीलाई बर्खास्त गर्छु भन्ने तागत प्रधानमन्त्रीले राख्नुहुन्न ।’




प्रतिक्रिया