‘अहिले एमाले, माओवादी, घण्टीलाई चलाउन दिऔं, ८४ मा कांग्रेस एक्लैले सरकार चलाउने तागत राख्छ’

‘अहिले एमाले, माओवादी, घण्टीलाई चलाउन दिऔं, ८४ मा कांग्रेस एक्लैले सरकार चलाउने तागत राख्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारतिर ध्यान नदिई २०८४ सालको चुनाव जित्ने गरी काम गर्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाण्डुमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनमा बोल्दै उनले सरकार चलाउने जिम्मा अहिले सरकारमा रहेका दलहरूलाई नै छाडिदिनुपर्ने बताए ।

उनले भने, ‘यो सरकार जसले चलाइरहेको छ, त्यसैलाई चलाउन दिऊँ । एमाले, माओवादी, घण्टी, जो–जोले चलाएका छन्, चलाउन दिऔं, चलाउन् । सरकारतिर हामी हेर्दै नहेरौं र यति राम्रोसँग हामी पार्टी निर्माण गरौं कि पार्टीलाई स्वच्छ पनि पारौं, बलियो पनि बनाऔं । तलैबाट पार्टीको एकता पनि गरौं । हार्दिकता पनि बढाऔं,’ उनले भने ।

प्रत्यक्षमा १०० सिट र समानुपातिकमा ४० प्रतिशत मत ल्याउन सके २०८४ सालपछि एकल सरकार चलाउन सकिने उनले बताए ।

उनले भने, ‘धेरै पनि भन्दिनँ म, २०८४ सालमा कम्तीमा पनि सय सिट जित्ने गरिकन र ४० प्रतिशत मत ल्याउन सक्ने गरिकन गयौं भने यही मिश्रित प्रणालीमा एकल सरकार चलाउने तागत मात्रै होइन, संविधानमा लेखिएका यी कुराहरूलाई सकारात्मक ढंगले कार्यान्वयन गर्न सक्ने त्यो तागत पनि नेपाली कांग्रेसले राख्छ,’ उनले भने ।

अबको चुनावमा गठबन्धन गर्ने, अर्को पार्टीसँग मिलेर सरकार बनाउने भन्ने कुरा नसोच्न उनले आग्रह गरे ।

उनले भने, ‘यता मिल्ने, उता मिल्ने, उसँग मिल्ने कुरा छोडिदिऔं । म जादुगर हो भनेको जस्तो गरी यता उफ्रिने, उता उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऔं । यो उहाँहरूकै जिम्मा हो । यो बीचमा पार्टी निर्माण गर्ने काममा लागौं ।’