काठमाण्डु-लमजुङमा पहिरोले पुरिँदा बेपत्ता भएका दुई जनाको मृत्यु भएको छ भने अहिले पनि ३ जना बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा बेसीशहर नगरपालिका–११ चितिका १६ वर्षीय विकल सुनार र क्व्होलासोथार गाउँपालिका–३ बगुमका रुद्रमान गुरुङ छन् ।
चितिका विकल र उनका दाजु मिलन सुनार पहिरोमा परेर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल बेसीशहर लैजाँदै गर्दा विकलको बाटोमा मृत्यु भएको लमजुङ प्रहरी प्रमुख डिएसपी मिनबहादुर घलेले जानकारी दिए ।
यता, क्व्होलासोथार गाउँपालिका बगुमका रुद्रमानसहित ४ जना पहिरोले पुरिएर बेपत्ता भएका थिए ।
पहिरो पन्छाएर उनीहरूको खोजी गर्दा ६९ वर्षीय रुद्रमानको शव भेटिएको हो । पहिरोमा पुरिएका ३६ वर्षीय पञ्चकुमारी गुरुङ, ७ वर्षीय इच्छा गुरुङ र ५ वर्षीय नम्रता गुरुङ भने अझै बेपत्ता छन् ।
अविरल वर्षाका कारण गएको पहिरोले बगुममा रुद्रमान, पञ्चकुमारी र क्व्होलासोथार गाउँपालिकाका योजना शाखा प्रमुखसमेत रहेका चित्र घलेको घर पुरिएको हो ।
मृत अवस्थामा भेटिएका रुद्रमानका श्रीमती लिलाकुमारी र बेपत्ता भएकी पञ्चकुमारीका छोरा ९ वर्षीय निरज छिमेकीको घरमा सुतेकाले जोगिएको गाउँपालिका उपाध्यक्ष गमी गुरुङले बताइन् ।




प्रतिक्रिया