काठमाण्डु – स्थानीय तहको सार्थक सहभागितामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संगठन विभागले काठमाण्डु उपत्यकाभित्र रणनीतिक रूपमा संगठन विस्तार गर्ने कार्यक्रम तय गरेको छ ।
काठमाण्डु उपत्यकाभित्रका महानगरपालिका, नगरपालिका र गाउँपालिका तहसम्म रणनीतिक पहुँच कायम राख्दै संगठन विस्तार कार्यक्रम अघि बढाउने राप्रपाको संगठन विभागले बिहीबार निर्णय गरेको छ ।
राप्रपा महामन्त्री एवं संगठन विभाग प्रमुख डा. धवल शम्सेर राणाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न संगठन विभागको बैठकले संगठन केन्द्रित अभियान असार १९ गते आरम्भ गर्ने निर्णय गरेको छ ।
प्रवक्ता एवं संगठन विभागका सदस्य सचिव सगुन सुन्दर लावतीका अनुसार पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न हुने रणनीतिक भेलामा राप्रपाका बागमती प्रदेश संयोजक, बागमती प्रदेश समिति अध्यक्ष, उपत्यकाभित्रका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, प्रतिधिनिसभा तथा प्रदेश सभाका सदस्यहरू, काठमाण्डु, ललितपुर तथा भक्तपुर जिल्लाका अध्यक्ष तथा सचिवहरू, क्षेत्रीय अध्यक्ष तथा प्रदेश सभा अध्यक्षहरू, महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका अध्यक्ष तथा सचिवहरूको सहभागिता रहनेछ ।
रणनीतिक भेलापश्चात वडा तहसम्मको सक्रिय सहभागिता कायम राखी उपत्यकाभित्रका सबै महानगरपालिका, नगरपालिका तथा गाउँपालिकामा प्रभावकारी रूपमा कार्यक्रम सम्पन्न गरिनेछ । पार्टी संगठनका बृहत् आयाम र लक्ष्यहरू केन्द्रमा राखिने सचिव लावतीले जानकारी दिए ।




प्रतिक्रिया