सक्रिय भयो मनसुन, आइतबारसम्म ठूलो वर्षाको सम्भावना

सक्रिय भयो मनसुन, आइतबारसम्म ठूलो वर्षाको सम्भावना

पूर्व सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-मनसुन थप सक्रिय भएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । लगातार र ठूलो पानी परेका ठाउँका नदी खोलामा बाढी आएको छ ।

अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । साथै मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राती देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

चितवनको कल्याणपुर र चर्चरे, काठमाण्डौको गोंगबु र कपन तथा सिन्धुपाल्चोकको गोब्रे र मानेखर्कमा ठूलो पानी परेकाले त्यस आसपासका नदी खोला किनारमा बस्नेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आइतवारसम्म देशका धेरै ठाउँमा वर्षा बढ्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् । केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात नेपाल नजिक अवस्थित रहने देखिएकाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आइतवारसम्म मेघगर्जन र चट्याङ, भारी वर्षा, भूक्षय, पहिरो, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, नदी र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।