नुवाकोट – ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ अवसरमा वातावरण संरक्षण तर्फ महत्वपूर्ण कदम चाल्ने उद्देश्यसहित एक युवा, एक विरुवा (वान युथ वान प्लान्ट) अभियानको औपचारिक सुरुवात भएको छ ।
नेपाल युवा परिषद्, एनसेल र खाद्य, कृषि संगठन (एफ.ए.ओ) नेपालको संयुक्त आयोजनामा नुवाकोटको बिदुर नगरपालिकामा रहेको ऐतिहासिक शुभघाटबाट शुक्रबार सुरुवात भएको हो । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले बिदुर नगरपालिकामा विरुवा रोपेर यो अभियानको उद्घाटन गरेकी हुन् ।
युवाहरुले राष्ट्रव्यापी पहलको ऐतिहासिक सुरुवात भएको र युवाहरुसँग उर्जा र बल भएको भन्दै उपसभामुख मगरले भनिन्, ‘यस अभियानमा सहभागी हुने युवाहरु सकारात्मक परिवर्तनको लागि शक्तिको प्रमाण रहेको भन्दै आज रोपिएका विरुवाहरू रोपेर हामीले हाम्रो वातावरणमा मात्र योगदान दिइरहेका छैनौं, भावी पुस्ताका लागि उदाहरण पनि बन्ने छ।’
गत जेठमा विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा ७ हजार ७ सय रुख वृक्षारोपण गर्न एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
आजबाट शुरु अभियान आगामी असार २१ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय वृक्षारोपण दिवस २०८१ को अवसरमा गरिएको अभियानअन्तर्गत देशभरका ७ हजार ७ सय युवाले हरियाली वातावरण प्रवर्द्धन र जलवायु कार्य प्रयासहरूमा योगदान गर्दै कुल ७ हजार ७ सय बिरुवा रोप्नेछन् । यस अभियानका लागि एनसेलले आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी (सीएसआर) को एटिन फर एटिन कार्यक्रम अन्तर्गत नेपाल युवा परिषद्सँग सहकार्य गरेको छ ।




प्रतिक्रिया