‘द डार्क फाइल’को ‘फेक’ अडिओ प्रकरणमा तीन जनाविरुद्ध अर्को मुद्दा दर्ता

‘द डार्क फाइल’को ‘फेक’ अडिओ प्रकरणमा तीन जनाविरुद्ध अर्को मुद्दा दर्ता

सिधाकुरा डटकम अध्यक्ष कँडेल, कार्यकारी सम्पादक ढुंगाना र राजकुमार तिमल्सिनाविरुद्ध अपमानजनक व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ‘द डार्क फाइल’ नाम दिएको ‘फेक अडियो’ प्रकरणमा तीन जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सिधाकुरा डटकम अनलाइनका अध्यक्ष बाग्लुङको काठेखोला गाउँपालिका ६ घर भई काठमाडौँ बस्ने सिधाकुरा डटकमका अध्यक्ष युवराज कँडेलसहित तीन जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो ।

मुद्दा दर्ता हुनेमा धादिङको नीलकण्ठ नगरपालिका ५ घर भई काठमाडौँ महानगरपालिका ४ बालुवाटार बस्ने सिधाकुरा डटकमका कार्यकारी सम्पादक नवीन ढुंगाना र ललितपुरको गोदावरी नगरपालिका ७ देवीचौर घर भई भक्तपुरको मध्यपुर थिमी १ मनोहरा प्लानिङ बस्ने राजकुमार तिमल्सिना छन् ।

उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको र अपमानजनक व्यवहार सम्बन्धी कसुरमा तीनै जनालाई फरार सूचीमा राखेर अदालतमा मुद्दा दर्ता भएको हो ।

सर्वोच्च अदालतको आदेशपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिधाकुराले प्रसारण गरेको डार्कफाइल अडिओको अनुसन्धान गर्दा नक्कली रहेको पुष्टि भएको थियो । फेक भएको प्रमाणसहितको प्रतिवेदन प्रहरीले बुझाएपछि त्यसैका आधारमा मुद्दा दर्ता गरिएको थियो ।

‘चारसय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ शीर्षकमा प्रसारित अडिओ फेक भएको पुष्टि भएपछि तीन प्रतिवादीले सर्वोच्च अदालत र न्यायाधीशको मान प्रतिष्ठामा आँच पुर्‍याइ अदालतप्रति नै भ्रम उत्पन्न गराई घृणा वा द्वेष फैल्याउने कार्य गरेको दाबीसहित अभियोग पत्र दर्ता गरिएको हो ।

नक्कली अडियो बनाएर विद्युतीय कारोबार ऐन, अन्तर्गतको कसुर गरेको, सर्वोच्च अदालत तथा न्यायाधीश र अन्य संलग्न भनिएका व्यक्तिलाई फैसलासँग जोडी गलत भिडिओ क्लिप तयार पारी प्रसारण गरेर अपमानजनक कार्य गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ ।

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था कानुनमा छ।

यी तीन प्रतिवादीविरुद्ध सर्वोच्च अदालतमा पनि मानहानिको मुद्दा विचाराधीन छ। उक्त मुद्दा ९ न्यायाधीशको इजलासमा पेस हुने भएको छ।