माधव नेपालको निष्कर्ष : एमालेबाट विद्रोह गरेर सही गर्‍यौं

माधव नेपालको निष्कर्ष : एमालेबाट विद्रोह गरेर सही गर्‍यौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट विद्रोह गरेर सही गरेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेबाट विद्रोह गर्नुको कुनै विकल्प नभएको बताए ।

एमालेबाट विद्रोह गरेर संविधान बचाएको र राजनीतिक स्थिरता कायम गरेको उनले दाबी गरे । आफूहरूले मुलुकलाई सही दिशामा अगाडि बढाउन भूमिका निर्वाह गरेको भन्दै उनले विद्रोह गरेर सही र न्यायोचित काम गरेको बताए ।

एमालेबाट विद्रोह नगरेको भए गल्लीमा भड्किइरहेको अवस्थामा हुने उनले अनुमान गरेका छन् ।

उनले भने, ‘विद्रोहबाहेक अर्को कुनै विकल्प थिएन । विद्रोह गरेर संविधान बचायौं हामीले । विद्रोह गरेर राजनीतिक स्थिरता कायम गर्‍यौं । विद्रोह गरेर हामीले मुलुकलाई सही दिशामा अगाडि बढाउनका लागि भूमिका निर्वाह गर्‍यौं । अत्यन्तै सही काम गर्‍यौं । कम्युनिस्ट आन्दोलनलाई जोगायौं । गलत प्रवृत्तिका विरुद्धमा जुध्यौं र आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनका लागि फेरि पनि पार्टीलाई क्रान्तिकारीकरण गर्नका लागि नयाँ पार्टी निर्माण गर्‍यौं । नयाँ पार्टी गठन गरेर, विद्रोह गरेर न्यायोचित काम गर्‍यौं । नभए हामी हराइसकेका हुन्थ्यौं । हामीले गल्लीमा भड्किइरहनुपर्ने स्थिति बन्थ्यो । आत्मसर्मपण गर्नुपर्ने अवस्था बन्थ्यो । हामीले ती सबै कुराहरूलाई स्वीकार गरेनौं । हामीले समर्पण गरेनौं । धेरै मान्छेलाई निराश हुनबाट जोगायौैं । कम्युनिस्ट आन्दोलनलाई निरन्तरता दियौं र सिंगो देशमा हाम्रो छुट्टै उपस्थिति अहिलेसम्म देखाएका छौं । हाम्रो भूमिकालाई स्थापित गरेका छौं ।’