काठमाण्डु- अविरल वर्षाका कारण गुल्मी पहिरोमा पुरिएर ४ जनाको जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका-६ कंडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको हाे ।
पहिरोमा पुरिएर भेषबहादुर बिक, बुहारी सीता बिक, नातिनी सपना बिक र बिना बिकको शव फेला परेको छ । त्यस्तै यता पहिरोले घर बगाउँदा स्याङ्जामा आमा छोरीको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका वडा नम्बर ५ बाँगे स्थित दुर्गा जिटीको घर पहिरोले बगाउँदा आमा छोरी पुरिएका हुन् ।
घरमा सुतिरहेकी ३१ वर्षीय दुर्गा जिटी र उनकी ३ वर्षीय छोरी निकिसा जिटीको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ । यता बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् ।
बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीय वसन्ती गए राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।
अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ । स्थानीयले उनीहरूको खोजी गरिरहेका छन् । यसैबिच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ । कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ ।




प्रतिक्रिया