काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकता गर्ने प्रयास भइरहेको बताएका छन् ।
आइतबारदेखि काठमाण्डुमा सुरु भएको एकीकृत समाजवादीको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीले यो महाधिवेशनबाट एकताको पक्षमा निर्णय गर्ने आशा आफूले राखेको बताए ।
‘नेकपा एकीकृत समाजवादी र माओवादी बीचमा निर्वाचनअघि, निर्वाचनपछि र आजका मितिसम्म पनि हामी एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरिरहेका छौैं’, दाहालले भने, ‘मलाई लाग्छ यो महाधिवेशनले यो विषयमा ठोस निर्णय गरोस् ।’
दाहालले एकीकृत समाजवादीले आफ्नो दस्ताबेजमा माओवादीलाई नजिकको मित्र भनेर मूल्यांकन गरेकामा खुशी व्यक्त गरे पनि आफूलाई अस्थिर भनेकामा चित्त दुखाए । आफू परिस्थिति हेरेर हिड्ने गरेको बताउँदै दाहालले माक्सवादलाई जमेको पोखरी नभई गडगडाउँदो नदीका रुपमा बुझेको धारणा व्यक्त गरे ।




प्रतिक्रिया