काठमाण्डु- प्रमुख तीन दलले संक्रमणकालीन न्यायसँग सम्बन्धि विषयलाई टुङ्गो लगाउन कार्यदल गठन गरेका छन् ।
बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दा टुंगो लगाउनेबारे सहमति भएको थियो ।
उक्त सहमति अनुसार टीआरसी विधेयकमा सहमति गरेर प्रस्ताव तयार गर्न तीन दलबाट एक एक जना सदस्य रहेको कार्यदल गठन गरिएको हो । कार्यदलमा नेपाली कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेबाट महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा रहेका छन् ।
कार्यदललाई छलफल गरेर टुंग्याउन बाँकी विषयसहितको प्रस्ताव तयार गरेर शीर्ष नेतृत्वलाई बुझाउने कार्यादेश दिइएको छ । कार्यदलले यसअघिको मस्यौदामा भएका असहमतिका बुँदामा छलफल गरेर साझा धारणा बनाउने छ ।
टीआरसी विधेयकका अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा सहमति कायम हुन नसकेको देखिएको छ । पीडितले न्याय पाउने गरी मात्रै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक टुंग्याउनुपर्ने एमालेले बताउँदै आएको छ ।




प्रतिक्रिया