काठमाण्डु – प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार बचाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सत्ता सहकार्यको प्रस्ताव लिएर दूत पठाएको तथ्य बाहिर आएको छ ।
प्रचण्डले आफ्नो दूत बनाएर नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र माओवादीका उपमहासचिव तथा वर्तमान सरकारका उर्जा जलस्रोत तथा सिंचाईँमन्त्री शक्तिबहादुर बस्नेतलाई सत्ता सहकार्यको प्रस्ताव लिएर देउवा निवास पठाएको कांग्रेस स्रोतले जानकारी दियो ।
प्रचण्डले मन्त्री बस्नेतलाई शनिबार कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्माओलीबीच भेटवार्ता हुन अगावै परिस्थिति फेरिने आकलनसहित सत्ता सहकार्य गर्ने प्रस्ताव लिएर पठाएका थिए । देउवा निकट स्रोतले बस्नेत आएको तर देउवाले तत्काल सत्ता सहकार्य गर्न नसकिने बताएर पठाएको जानकारी दियो ।
‘भर्खरै धोका दिएर जानु भएको हो, तत्कालका लागि सत्ता सहकार्यको सम्भावना छैन भनेर भेट्न आउनु भएका उर्जामन्त्री बस्नेतजीलाई सभापतिले पठाउनुभयो,’ देउवा निकट स्रोतले भन्यो ।
शनिबार देउवा र ओलीबीच भएपछि साँझ एकीकृत समाजवादीका ध्यक्ष माधवकुमार नेपाल पनि प्रचण्डको दूत बनेर बूढानीलकण्ठ पुगेका थिए । नेपालसँग पनि सकारात्मक कुरा भएन । देउवाले नेपाललाई तपाईप्रति सदभाव छ, प्रचण्डलाई साथ दिन सकिन्न भनेर पठाएको स्रोतले बतायो ।
फागुनमा मात्र कांग्रेस छोडेर एमालेसँग गठबन्धन गरेका प्रचण्डले केही दिनपहिले आफूसँग जादुको नम्बर भएकोले सरकार पाँचै वर्ष टिक्ने अभिव्यक्ति दिएका थिए ।
त्यो अभिव्यक्ति एमालेसँग खटपट भएपछि आएको निकटस्थहरू बताउने गर्छन । कांग्रेस र एमालेबीच संसदको आधा आधा कार्यकाल सत्ताको नेतृत्व गर्ने र संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा उच्च स्तरीय आयोग बनाउने पनि सहमति बनेको बताइन्छ ।




प्रतिक्रिया