काठमाण्डु –नेपाली कांग्रेसले सत्ता साझेदार दल नेकपा एमालेसँग कुन मन्त्रालय कुन पार्टीले पाउने भन्ने टुग्याएपछि मात्रै मन्त्रीको नाम छनौट गर्ने भएको छ । मन्त्री बन्न आकांक्षी धेरै भएकाले पार्टीको भागमा पर्ने मन्त्रालयका लागि उपयुक्त हुने पात्रलाई मन्त्री बनाउने योजना सभापति शेरबहादुर देउवाले बनाएका हुन् ।
यसपटक पार्टीभित्र देखिएका गुटलाई भागबण्डा मिलाएर मन्त्री सिफारिस गर्ने नभइ कुन मन्त्रालयका लागि कुन सांसद् योग्य हुन्छन् त्यसैलाई पठाउने तयारी आफूले गरेको सभापति देउवाले आफूलाई मन्त्री बनाइदिन पर्यो भन्दै भेट्न जाने सांसदलाई सुनाउने गरेका छन् ।
कांग्रेस र एमालेबीच १७ असारमा संविधान संशोधनसहित सत्तासहकार्य गर्ने ७ बुँदे सहमति भएको छ । सहमति भने सार्वजनिक गरिएको छैन । नेताहरूका अनुसार सहझदारी अनुसार अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् ।
अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले २८ असारमा विश्वासको मत लिने तय भएकाले त्यसपछि ओली नेतृत्वमा गठबन्धन सरकार बन्नेछ । एमाले र कांग्रेसबीच क्रमशः ९ र १० मन्त्रालय लिने सहमति भएको छ । कुन कुन मन्त्रालय क–कसले लिने भन्ने टुंगिएको छैन ।
पहिला ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि मात्रै कुन मन्त्रालय कसले लिने भन्ने टुंग्गो लगाउने तयारी दुवै दलको छ ।
देउवाका स्वकीय सचिव भानु देउवाले मन्त्रीबारे पार्टीमा छलफल नै नभएको जानकारी दिए । एमालेसँग मन्त्रालयको टुंगो लगाएपछि पार्टीभित्र आन्तरिक छलफल गरी मन्त्रीको नाम टुंग्याउने उनले बताए ।
पार्टीमा गुट चलाउने नेताको मनस्थिति बुझ्ने र आफूले उनीहरूले विरोध गर्न नसक्नेगरी मन्त्री सिफारिस गर्ने तयारीमा देउवा रहेको बुझिने उनलाई भेट्न जाने नेताहरू बताउँछन् । कांग्रेसमा सभापति देउवासहित उनीसँग १४ औँ महाधिवेशनमा निकटतम प्रतिद्वन्द्वी भएका नेता डा. शेखर कोइराला, नेता प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शशांक कोइराला गुट चलाउँछन् ।
कांग्रेसमा देउवाबाहेक प्रतिनिधि सभाका ८७ र राष्ट्रिय सभाका १६ गरी १०३ जना सांसद मन्त्री बन्ने दौडमा छन् । एमाले र कांग्रेसको बलियो सरकार बन्ने भएकाले यो सरकारमा मन्त्री बनेर काम गरेर देखाउने चाहना सबै सांसदलाई रहेको नेताहरू बताउँछन् ।
नेताहरूका अनुसार देउवाले अहिलेसम्म प्रतिनिधि सभाका प्रमुख सचेतक लेखकलाई मात्रै मन्त्रीको आश्वासन दिएका छन् ।




प्रतिक्रिया