काठमाण्डु – राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको नयाँ गठबन्धन मुलुकका लागि हानिकारक भएको बताएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले वर्तमान सत्तासमीकरणबारे मंगलबार पार्टीको धारणा सार्वजनिक गर्दै एमाले अध्यक्ष केपी शर्माओली नेतृत्वमा सरकार बनिसकेपछि देशमा प्रतिगमनको समस्या झन् गम्भीर रूपमा देखापर्ने खतरा रहेको बताए ।
केसीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘साम्राज्यवादी शक्तिहरूले पनि मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताविरुद्ध षड्यन्त्र गर्न सक्ने खतरा झन् बढेर गएको छ । यो परिस्थितिमा गणतन्त्र तथा राष्ट्रियता रक्षाका लागि संघर्षलाई अगाडि बढाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।’
उनले ओली नेतृत्वको सरकार नेपालका लागि तात्कालीन र दीर्घकालीन दुवै दृष्टिले हानिकारक रहेकाले राष्ट्रिय जनमोर्चाले सरकारको कडा विरोध गर्ने उल्लेख गरेका छन् ।
केसीले प्रधानमन्त्री ओली अधिनायकवादी चरित्रका कारण नेपालको राजनीतिमा निकै बदनाम रहेको उल्लेख गर्दै लेखेका छन्, ‘केपी ओलीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई समाप्त गर्ने, जनप्रतिनिधिमूलक संस्थाबाट आएको विरोधको सामना गरेर मार्गप्रशस्त गर्नेभन्दा दुई–दुई पटक संसद् नै भङ्ग गरेर देशलाई प्रतिगमनतर्फ धकेल्ने कार्य गरेका थिए । अहिले पनि केपी ओलीलाई त्यो गल्तीप्रति कुनै पश्चाताप नभएर त्यसको पक्षमा आफूलाई खडा गर्दै आइरहेका छन् ।’
ओलीमा संसद् चल्न नदिने, पार्टीभित्र उठेका विरोधका स्वरहरूलाई अधिनायकवादी ढङ्गबाट दबाउन खोज्ने प्रवृत्ति रहेको केसीले उल्लेख गरेका छन् ।




प्रतिक्रिया