कुनै पनि बेला विपद्जन्य घटना हुने भएकाले उच्च सतर्कता अपनाउनुस् : गृहमन्त्री लेखक

कुनै पनि बेला विपद्जन्य घटना हुने भएकाले उच्च सतर्कता अपनाउनुस् : गृहमन्त्री लेखक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले कुनै पनि बेला विपद्का घटना हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन मन्त्रालय र सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिएका छन् ।

मंगलबार मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको स्वागत कार्यक्रममा उनले वर्षा हुने समय अझै बाँकी रहेकाले त्यसलाई मध्यनजर गरी सतर्कता अपनाउन आग्रह गरे ।

यस वर्ष भारी वर्षा हुने आकलन विज्ञहरूले गरेको भन्दै उनले सुरक्षा निकाय, प्राधिकरण, प्रदेश सरकार र स्थानीय सरकार सजग रहनुपर्ने बताए ।

उनले पूर्व सूचना प्रणालीका कारण विगतको तुलनामा कम क्षति भए पनि अझै क्षति न्यूनीकरण गर्न सतर्क रहन आग्रह गरे । उनले कुनै पनि बेला वर्षा हुने र त्यसले ठूलो क्षति निम्त्याउन सक्ने भन्दै कुनै पनि समयका लागि सतर्क भएर रहन आग्रह गरे । उनले मन्त्रालय र प्राधिकरणको समन्वयलाई थप सुदृढीकरण गर्दै अन्तर मन्त्रालयसँगको समन्वयलाई प्राथमिकता दिन आग्रह गरे ।

उनले स्वास्थ्य तथा जनसंख्या, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, प्रदेश र स्थानीय सरकारसँगको समन्वय बढाउन र प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए । विपद् सुरक्षा सम्बन्धी आवश्यक जनशक्ति र स्रोत साधनका लागि चाहिने रकम विनियोजन गर्न अर्थ मन्त्रालयसँग कुरा गर्ने उनले बताए ।

न्यूनतम कर्मचारी बढाउने गरी प्रक्रिया अघि बढाउन उनले आग्रह गरे । आर्थिक कारणले कुनै पनि काम नरोकिने प्रतिबद्धता जनाए । उनले अरु खर्च कटौती गरेर भए पनि नागरिकको ज्यान बचाउने कुरामा सरकार लाग्ने बताएका छन् ।