काठमाण्डु – कास्की र दाङमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
कास्कीको पोखरा महानगरपालिका–२१ गुड्कुस्थित सडकमा रामदीबाट पोखरातर्फ आउँदै गरेको एलपी देवकोटा मेमोरियल ईङलिस बोडिङ स्कूलको ग१क ६२१९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करीब ५० मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा बसमा सवार २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा पोखरा महानगरपालिका–२१ कृष्ती बस्ने सोही विद्यालयको कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र एलकेजीमा अध्ययनरत ६ वर्षीय प्रिन्स विक छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बसमा सवारमध्ये १३ जनाको गण्डकी मेडिकल कलेजमा, १२ जनाको पश्चियम क्षेत्रीय अस्पतालमा र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
दाङको लमही नगरपालिका–८ असानीस्थित सडकमा रा३प ७११४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक तुलसीपुर उपमहानगरपालिका–६ बरूवा गाउँ बस्ने ५६ वर्षीय पोष्कर बहादुर सुनारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
उद्धार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया