संसद् भवन निर्माण समयमै पूरा गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

संसद् भवन निर्माण समयमै पूरा गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधिन संसद् भवन ९ महिनाभित्र पूरा गर्न निर्देशन दिएका छन् ।

सिंहदरबारमा निर्माणाधीन संसद् भवनको मंगलबार निरीक्षणपछि उनले कामको गति सुस्त भएको उल्लेख गर्दै समयमै काम सक्न निर्देशन दिए ।

‘सिफ्ट बढाएर भए पनि तोकिएको समयमा भवन निर्माण सम्पन्न गर्नुपर्‍यो । केही अप्ठ्यारा छन् भने मन्त्रालय सहजीकरण गर्न तयार छ । समयमा सबै काम सकियोस् । आउँदो हिउँदे अधिवेशन यही भवनमा गर्ने गरी तत्परताका साथ काम गर्नुहोस्,’ उनले भने ।

तोकिएको समयावधिमा काम सम्पन्न नहुने गुनासो सुनिएपछि निरीक्षणका लागि आएको बताउदै उपप्रधानमन्त्री सिंहले कामलाई तीव्रता दिन निर्देशन दिए ।

त्यस अवसरमा मन्त्रालयका सचिव मणिराम गेलालले कम्तीमा २ सिफ्टमा काम गर्न ठेकदार कम्पनीलाई निर्देशन दिइए तापनि हाल १ सिफ्टमा मात्रै काम भइरहेको बताए । ‘प्रतिदिन ७०० जनाले काम गर्नुपर्नेमा एकदेखि डेढ सयले काम गरेपछि अब त्यसलाई पूर्ति गर्न कामदार बढाउनुको विकल्प छैन । ठेकेदारसँग भवन निर्माण समयमै सम्पन्न गर्न छलफल गरिरहेका छौं,’ उनले भने ।

सिंहदरबार परिसरमा संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालय समेत रहने गरी १२ वटा ब्लक सहितको भवन निर्माण भइरहेको छ ।