सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदैछन् । सङ्घीय सरकार गठनमा भएको फेरबदलपछि सत्ता सहयात्री दल एमालेले समर्थन फिर्ता लिएपछि उनले आज विश्वासको मत लिन लागेका हुन् ।

बुधवार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिन बैठक व्यवस्थापन गरिदिन आग्रह गरेका थिए ।

मुख्यमन्त्रीको आग्रहपछि सभामुख भीमबहादुर भण्डारीले आज दिउँसो ४ बजेका लागि प्रदेश सभाको बैठक बोलाएको प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

एमालेले गत असार २० मा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारीले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिन लागेका हुन् । एमाले र कांग्रेसको गठबन्धन बनेपछि सोडारी अल्पमतमा परेका छन् ।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ । मुख्यमन्त्री सोडारीका पक्षमा माओवादी केन्द्रका १०, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्रको एक गरेर १५ मत मात्रै देखिन्छ ।

उनको विपक्षमा भने नेपाली कांग्रेसका १८, एमालेका ११, नागरिक उन्मुक्तिका सात र राप्रपाको एक गरेर ३७ मत पर्ने देखिन्छ । यद्यपि मुख्यमन्त्री निकट स्रोतका अनुसार उनले भोली प्रदेशसभालाई सम्बोधन गरेर पदबाट राजीनामा गर्ने सम्भावना पनि छ ।

एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी वैशाख ६ गते एमाले, माओवादी, नागरिक उन्मुक्ति र स्वतन्त्रको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । कांग्रेस र एमालेबिच भएको सहमतिअनुसार अब यस प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन हुने छ । तर कांग्रेसले कसलाई मुख्यमन्त्री बनाउने भन्ने टुङ्गो लगाउन सकेको छैन ।

अहिलेसम्म कांग्रेसमा संसदीय दलका नेता समेत रहेका पूर्वमुख्यमन्त्री कमल बहादुर शाह, पूर्वभौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा र कांग्रेसका पुराना नेता बहादुर थापा मुख्यमन्त्रीको दौडमा छन् ।

उनीहरू तीनै जनाले कांग्रेस नेतृत्वलाई आफूले मुख्यमन्त्री पाउनु पर्ने भन्दै लबिङ गरिरहेका छन् । तर, अझैसम्म पनि कांग्रेस सभापति शेरबहादुर देउवाले तीन जना मध्ये कसैलाई पनि ‘ग्रीन सिग्नल’ नदिएको कांग्रेस स्रोतको जनाए छ ।

सुदूरपश्चिम प्रदेश सभापति देउवाको गृह प्रदेश पनि हो । आफ्नै प्रदेशको मुख्यमन्त्री बनाउने विषयमा देउवाले आफै चासो दिइरहेका छन् । तर, अझैसम्म पनि उनले मुख्यमन्त्रीकाको लागि कसैलाई अघि बढ्न भनिसेका छैनन् ।

अघिल्लो पटक केन्द्रमा एमाले माओवादी गठबन्धन हुँदै प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउन सफल भएको भन्दै देउवा तत्कालीन मुख्यमन्त्री शाहप्रति सकारात्मक रहेका छन् ।

अर्का आकांक्षी देउवा सभापति शेरबहादुर देउवाका सहोदर भतिजा हुन् । यस्तै अर्का आकांक्षी थापालाई कांग्रेस नेता एनपी साउदले मुख्यमन्त्री बनाउन जोड दिइरहेका छन् । तीनै जनाको निकै रस्साकस्सी भएको हुँदा सभापति देउवालाई निर्णय लिन सकस भइरहेको कांग्रेस नेताहरू बताउँछन् ।