काठमाण्डु-नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ ।
पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए ।
विधानअनुसार बनाइएको ‘क्लष्टर’का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने बैठकमा प्रस्तावित ती नामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने जनाइएको छ ।
पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । हाल अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य रहेको केन्द्रीय कमिटीमा दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छ ।
पार्टीमा केन्द्रीय सदस्यका लागि आकांक्षी धेरै भएपछि नेताहरुको योगदान, कार्यक्षमता तथा भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनित गरिने नेता पाण्डेयले जानकारी दिए ।
बागमतीबाट सबैभन्दा धेरै र गण्डकी प्रदेशमा सबैभन्दा थोरै केन्द्रीय सदस्य मनोनित गरिने जनाइएको छ । केन्द्रीय कमिटीले पूर्णता पाएपछि पदाधिकारी छनोट गरिने छ ।
मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा समीक्षा गर्ने बैठकले पार्टीको भावी कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ ।




प्रतिक्रिया