महसुल नतिर्नेको विद्युत् लाइन काट्दा कुटपिट गर्ने २ जनाविरुद्ध प्रहरीमा मुद्दा दर्ता

महसुल नतिर्नेको विद्युत् लाइन काट्दा कुटपिट गर्ने २ जनाविरुद्ध प्रहरीमा मुद्दा दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संखुवासभा – नेपाल विद्युत् प्राधिकरण कार्यालय संखुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित २ जना कर्मचारीमाथि कुटपिट भएको छ ।

विद्युत् महसुल नतिरेपछि लाइन काटेको जनाउँदै लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिए ।

उनका अनुसार इञ्चार्ज राजकुमार राई र प्रदीप जिमी साउन १५ गते कुटपिट भएको थियो । कुटपिट गरेको आरोपमा मादी नगरपालिका–४ ओखरबोटका स्थानीय लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बूविरुद्ध ईलाका प्रहरी कार्यालय चैनपुरमा मुद्दा दर्ता भएको कार्यालयका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए ।

‘निजहरूविरुद्ध अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता भएको छ । उजुरी लगत्तै उहाँहरू फरार भएकाले खोजी कार्य भइरहेको छ,’ उनले भने ।

विद्युत् महसुल नतिरेर लाइन काटिएको विषयमा विवाद हुँदा राई र जिमीमाथि गालीगलौज, हातपात तथा कुटपिट भएको थियो । स्थानीय लिङ्थेपको क्रसर उद्योगले ६ लाख ४० बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काटेको प्रमुख यादवले बताए । कर्मचारीमाथि कुटपिट भएपछि मादीस्थित शाखा कार्यालय गत साउन १५ गतेदेखि बन्द छ ।

कार्यालयमा ६ जना कर्मचारी कार्यरत छन् । शाखा कार्यालय बन्द भएपछि सेवाग्राही मारमा परेका छन् । कर्मचारीमाथि कुटपिट भएपछि अन्य कर्मचारी त्रासमा रहेकाले कार्यालय बन्द गरेर सदरमुकाम आएका छन् ।