काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आश्वासनपछि भारतका लागि नेपालको राजदूत पाउने आशामा साउन ९ गते राष्ट्रिय सुरक्षा सल्लाहकारबाट पूर्व मुख्यसचिव शंकरदास वैरागीले राजीनामा दिएका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले १८ देशमा राजदूत सिफारिस गर्दा वैरागीको नाम परेन । उनले चाहना राखेको भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा दोहोरिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले फिर्ता बोलाएका डा. शर्मालाई मन्त्रिपरिषद् बैठकले पुनर्नियुक्ति सिफारिस गरेको छ ।
निकटस्थ स्रोतका अनुसार वैरागीलाई राजदूत बन्नबाट पनि प्रधानमन्त्री ओलीले नै रोकेका हुन् । त्यसपछि बाहिर किताब पढेर बस्ने प्रतिक्रिया दिएका वैरागी भित्रभित्रै भने पुनः राष्ट्रिय सुरक्षा सल्लाहकारमै बस्न परराष्ट्रमन्त्री एवं कांग्रेस सभापति देउवा पत्नी आरजु राणा देउवामार्फत लविङ गरिरहेका थिए ।
आफूसँग राम्रो सम्बन्ध रहेका एमाले नेताहरूमार्फत प्रधानमन्त्री ओलीसम्म कुरा पुर्याउने प्रयासमा थिए उनी । तर आफू प्रधानमन्त्री बनेपछि सुरक्षा सल्लाहकार नराख्ने बताएका ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकबाट सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार पद नै खारेज गरिदियो ।
बैठकले राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधा सम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय गरेपछि उनले लविङ गरिरहेको बाटो बन्द भएको छ । यससँगै वैरागी यता न उताका बनेका छन् ।
प्रचण्ड नेतृत्वको सरकारले निर्देशिका ल्याएर वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्दै व्यवस्थापन गरेको थियो । डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउन वैरागीलाई करीब ३ महिना कार्यकाल बाँकी रहँदै राजीनामा गर्न लगाएर नयाँ पद सिर्जना गरी व्यवस्थापन गरिएको थियो । सचिवबाट अवकाश पाउन लागेका डा. अर्याललाई मुख्यसचिव बनाउन वैरागीलाई २०८० जेठ ३२ गते मुख्यसचिवबाट राजीनामा गराइएको थियो ।
त्यही दिन मन्त्रिपरिषद्ले अर्याललाई मुख्यसचिव र वैरागीलाई सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो ।




प्रतिक्रिया