काठमाण्डु-नारायणगढ–मुग्लिन सडकखण्डमा माथिबाट खसेको ढुंगाबाट आफू मरेर बसका यात्रुलाई बचाउने चालकको परिवारलाई सरकारले नगदसहित सम्मान गर्ने बताएका छन् ।
भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेर ज्यान गुमाएका लु २ ख ६५६६ नम्बरको बस चालक मेघनाथ विकका परिवारलाई सरकारले नगद ५ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।
गत असार २८ गते सत्रकिलोमा पहिरोसँगै माथिबाट खसेको ढुंगा लागेर नवलपरासी सुनवल नगरपालिका–४ बस्ने ३६ वर्षीय चालक मेघनाथ विकको मृत्यु भएको थियो । उनी सिटमै बसेका बेला ढुंगा लागेको थियो । बसमा सवार ३० जना यात्रु भने सकुशल थिए ।
आगामी भदौं ३ गते विश्व मानवीय दिवसको अवसरमा सुर्खेतमा आयोजना हुने कार्यक्रममा गृहमन्त्री रमेश लेखकले विकको परिवारलाई सम्मान गर्ने कार्यक्रम तय भएको हो ।
संयुक्त राष्ट्रसंघको आह्वानमा अगष्ट १९ मा मनाइने विश्व मानवीय दिवसका दिन प्राकृतिक विपद्को बेला खोज, उद्धार तथा जीवन रक्षा लगायतका काममा उत्कृष्ट योगदान गरेकाहरुको स्मरण गर्दै सम्मान गर्ने गरिन्छ ।




प्रतिक्रिया