काठमाण्डु-माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ ।
बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिने कार्यक्रम रहेको छ ।
गत शुक्रबारदेखि जारी बैठकमा नेतृत्वको विकल्प, विचार संश्लेषण, पार्टी निर्माण लगायत विषयमा नेताहरूले खुलेर बहस गरिरहेका छन् ।
बैठकमा पार्टीभित्रका समस्या र समाधानका विषयमा छलफल हुँदै आएको छ । कतिपय नेताहरुले अध्यक्ष प्रचण्डको कार्यशैलीमाथि प्रश्न उठाउँदै नेतृत्वमा उनको विकल्पसमेत खोजेका छन् ।
उपमहासचिव जनार्दन शर्माले लिखित धारणा राख्दै अध्यक्ष प्रचण्डको विकल्पमा तेस्रो पुस्ताका युवालाई नेतृत्व दिनुपर्ने प्रस्ताव राखेका थिए ।
त्यसका लागि हालको केन्द्रीय समिति भंग गरी अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयनको बाटो अपनाउनुपर्ने शर्माको प्रस्ताव छ ।
बैठकमा धारणा राख्ने अन्य नेताहरुले पनि नेतृत्व र नेताहरुको कार्यशैलीमा प्रश्न उठाएका छन् । साथै पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने लगायतका आवाज पनि बैठकमा उठेका छन् ।




प्रतिक्रिया