काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रस्ताव परिमार्जन गरेर पास गर्ने कि यथास्थितिमा पास गर्ने भन्ने विवाद भएपछि निर्णय नै नगरी ११ दिन स्थगित गरिएको छ । २८ साउनमा बैठक बसेपछि कुनै निर्णय नगरेर एकैचोटी ७ भदौमा बस्नेगरी ११ दिन स्थगित गरिएको हो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गत फागुनमा सम्पन्न महासमिति बैठकमा पेस गरेका प्रस्ताव महासमिति सदस्यहरूको सुझावका आधारमा आवश्यक संशोधनसहित पास गर्नेगरी केन्द्रीय समितिमा पेस गरिएको थियो । प्रस्तावमा रहेका एक्जिट पोलिसी, चुनावी गठबन्धनलगायतका विषयमा संस्थापन र इतर समूहका नेताहरूबीच कुरा नमिलेपछि बीचैमा बैठक स्थगित गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
महामन्त्री थापाले बैठकमा पेस गरेको सांगठनिक र शर्माले पेस गरेको समसामयिक राजनीतिक विषयको प्रस्ताव परिमार्जन गर्नुपर्ने संस्थापन पक्षका अधिकांश नेताहरूले आवाज उठाएका थिए ।
तर, प्रस्ताव प्रस्तुतकर्ता महामन्त्रीद्वय थापा र शर्माले परिमार्जन गर्न आनाकानी गरेका कारण ११ दिन बैठक बीचैमा स्थगित गरिएको प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले जानकारी दिए । सहमतिको प्रयासका लागि बैठक स्थगित गरिएको विश्वकर्माले जानकारी दिए ।
‘महामन्त्रीद्वयको प्रस्तावमा फरक फरक धारणा आएको र संसद्मा टीआरसीसहितका महत्त्वपूर्ण विधेयक पेस गर्ने समय तोकिएकाले बैठक भदौ ७ गतेसम्म स्थगित गरिएको उनको भनाइ छ ।
सांगठनिक प्रस्तावमा रहेको निर्वाचनमा गठबन्धन नगर्न अहिलेनै प्रस्ताव पास गर्ने विषय र समसामयिक प्रस्तावमा रहेको नेताहरूको एक्जिट पोलिसीको विषयमा केन्द्रीय समितिमा धारणा राख्ने क्रममा चर्को ध्रविकरण देखिएको थियो । थापाले गठबन्धनको र शर्माले एक्जिट पोलिसीको विषय आफ्ना प्रतिवेदनमा पेस गरेका थिए ।
थापाले निर्वाचनपूर्वको गठबन्धन उचित नहुने विषयलाई पार्टीले घोषणा गर्नुपर्ने विषय प्रस्तावमा उठाएका छन् ।
शर्माले उठाएको राष्ट्रपति, प्रधानमन्त्री र सभापति, मन्त्री र सांसदका लागि १, २, ३ र ४ को पटकको कार्यकाल तोक्ने विषयमा पनि विवाद देखिएको छ ।
केन्द्रीय समिति बैठकमा प्रवक्ता डा.प्रकाशशरण महत, सदस्यहरू आरजु राणा देउवासहितका नेताले खुलेरै महामन्त्रीद्वयको प्रस्ताव अनुचित भएको बताएपछि इतर समूहका नेताहरूले प्रस्तावको पक्ष लिँदै विरोध गर्नेहरूको आलोचना गरेका थिए ।




प्रतिक्रिया