सोलुखुम्बु-सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । हिजो दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने जारी रहेको छ । बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ ।
खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ । उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
उक्त बाढी भोटेकोसी हुँदै दूधकोसीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ । बाढीले कोसी आसपासका क्षेत्र कटान गर्दा खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका जोड्ने दूधकोसी नदी माथिको पक्की मोटरेबल पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
पुलमा क्षति पुगेसँगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जालसमेत टुटेको छ ।
खुम्बु क्षेत्रबाट उक्त बाढी हिमताल फुटेर आएको हुनसक्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताए । कुन हिमताल फुट्यो भन्ने यकीन नभएको उनको भनाइ छ । बाढीले गाउँ नै बगाएको स्थानको स्थलगत निरीक्षणमा रक्षामन्त्री मानवीर राईसहित विपत् व्यवस्थापन समितिको टोली आज आउने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए ।
थामे गाउँमा राहत वितरण हुँदै
यसैबीच विस्थापित बासिन्दालाई आज राहत वितरण हुँदैछ । आज हेलिकोप्टरमार्फत राहत सामग्री लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारीे खत्रीले जानकारी दिए ।
विस्थापित एकसय ४० जना आफन्तको घर र होटलमा बसेका छन् । उनीहरुलाई तत्काल खान र बस्नको समस्या नभएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।
कुनै हिमताल बिस्फोट भएको हुन सक्ने आशङ्का गरिए पनि यकिन हुन बाँकी छ । जल तथा मौसम विज्ञान विभागले गरेको प्रारम्भिक अध्ययनअनुसार थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा साना ठूला गरी छवटा हिमताल, हिमपोखरी रहेको देखिन्छ ।
निरन्तर वर्षा र तापक्रम वृद्धिले त्यस क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालमध्ये कुनै हिमताल बिष्फोट भएको हुन सक्ने विभागले निकालेको विज्ञप्तिमा उल्लेख छ । त्यस क्षेत्रको नजिक रहेको फोर्त्से केन्द्रमा विगत ७ दिनमा कुल ६५ मिलिमिटर वर्षा मापन भएको छ दुधकोशीको तटीय क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
बाढीको कारणबारे अध्ययन गर्न प्राविधिक टोली पनि आज घटनास्थल जाँदैछ । राहत सामग्री लिएर जाने टोलीले प्रभावित क्षेत्रको अध्ययन गर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।




प्रतिक्रिया