प्रचण्डकै सामुन्ने जनार्दनको प्रश्न : ‘तपाईंहरूले मलाई दलाल जस्तो देख्नुहुन्छ ?’

प्रचण्डकै सामुन्ने जनार्दनको प्रश्न : ‘तपाईंहरूले मलाई दलाल जस्तो देख्नुहुन्छ ?’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा पार्टीको पछिल्लो स्थायी कमिटी बैठकयता चर्चामा छन् । पार्टी बैठकमा नेतृत्व परिवर्तनको प्रस्ताव राखेपछि उनीमाथि आरोप–प्रत्यारोप भइरहेको छ ।

यस्तै चर्चाबीच उनले पार्टी फुटाउन लागेको चर्चा पनि चल्यो । पार्टी नेतृत्वकै वरिपरिबाट आफूमाथि आरोप लागेको उनको गुनासो छ ।

यस्तै परिदृश्यबीच शनिबार रुकुम पश्चिम–काठमाण्डु सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘पार्टी फुटाउँदै छ’ भनेर पार्टीको उच्च तह र नेतृत्वबाट नै देशभर बदनाम गराइएको आरोप लगाए । उनले मनोगत ढंगले आरोप लगाएर आफूमाथि हमला भइरहेको गुनासो गरे ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै सामुन्ने उनले नेता–कार्यकर्तालाई सोधे, ‘तपाईंहरूले मलाई दलाल जस्तो देख्नुहुन्छ ? यो पार्टी फोर्ने जस्तो देख्नुहुन्छ ?’

कार्यक्रममा मन्तव्य राख्दै उनले भने, ‘संगठनात्मक रूपले केही न केही सिर्जना गर्ने कुरामा रूकुमले योगदान गरेकै हो । हजारौं कमाण्डरहरूलाई तयार गरेर युद्ध मोर्चामा गएकै हो । जनयुद्धपछि संविधान निर्माणमा खेल्नुपर्ने भूमिका खेलेकै हो । ५–५ जना थियौं, हामी संविधान निर्माणको बेलामा । तर आज बडो आश्चर्यमा छु म । तपाईंहरूलाई मेरो अनुहार कस्तो लाग्छ कुन्नि ? तपाईंहरूले मलाई दलाल जस्तो देख्नुहुन्छ ? भन्नुस्, म दलाल जस्तो छु ? म यो पार्टी फोर्न जस्तो देख्नुहुन्छ तपाईंहरूले ? तर त्यो आरोप आज मैले खेपिरहेको छ । पार्टीको उच्च तहबाट, नेतृत्वको वरिपरिबाट पार्टी फुटाउँदैछ भनेर मेरो बदनाम गरिएको छ ।’

पार्टीभित्र संघर्ष र प्रश्न गर्नुपर्ने आवश्यकता ठानेर नै आफूले प्रश्न गरेको उनले प्रस्ट पारे । आफूले गरेको प्रश्नभित्र कुनै षड्यन्त्र, दूराग्रह र नेतृत्वप्रतिको अपमानको कुनै गुञ्जायस नरहेको उनले बताए । उनले आफूले राखेको प्रश्नमा पार्टी बनाउने, निर्माण गर्ने र रूपान्तरण गर्ने हुटहुटी रहेको बताएका छन् ।