काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएकी छन् ।
गौरा पर्व मनाउन बुधबार धनगढी पुगेकी परराष्ट्रमन्त्री डा. राणाले आफू विकासका लागि प्रतिबद्ध रहेको बताउँदै विकासबारे हालै भारत भ्रमणका क्रममा भारत सरकारसँग पनि कुरा उठाएको बताइन् ।
धनगढी उपमहानगरपालिका–४ मा निर्मित आधारभूत स्वास्थ्य केन्द्र एवं वडा कार्यालय भवनको बुधबार उद्घाटन गर्दै उनले हालै सम्पन्न भारत भ्रमणका क्रममा गौरीफन्टा नाकालाई पूर्ण क्षमताका साथ सञ्चालन गर्ने गरी स्तरोन्नति गर्ने विषयमा आफूले कुरा राखेको जानकारी दिइन् ।
मन्त्री डा. राणाले भनिन्, ‘केही वर्ष मात्र अघि पनि तत्कालीन प्रधानमन्त्री श्रद्धेय शेरबहादुर देउवा भारत भ्रमण गएका बेला यो नाकाका बारेमा कुरा राख्नुभएको थियो । यो नाका हाम्रो सुदूरपश्चिम क्षेत्रकै एक ‘लाइफा लाइन’ नै हो । त्यसैले यस पटकको भ्रमणमा मैले हाम्रा तर्फबाट यस विषयमा कुरा राखेको छु । भारतीय पक्षबाट पनि केही लिखित प्रस्ताव आओस् भन्ने कुरा आएको छ । हामी यो नाकाको स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने गरी प्रक्रिया अघि बढाउने छौं ।’
भारत भ्रममणकै क्रममा धनगढीको फाप्लुमा निर्माण हुने बहुउद्देश्यीय खेल मैदानका विषयमा पनि आफूले कुरा उठाएको उनले जानकारी दिइन् ।
उनले विगत लामो समयदेखि नै नेपाली कांग्रेसको नेतृत्वको सरकारले नेपालमा विकास निर्माणका कामहरू गर्दै आएको स्मरण गर्दै स्थानीय सरकारलाई बलियो बनाउने गरी संवैधानिक व्यवस्था गर्ने, स्थानीय सरकारलाई सशक्त र सुविधासम्पन्न बनाउने एवं महिलाको प्रतिनिधित्वसहित समावेशी प्रकृतिको स्थानीय सरकार बनाउने अभियानको नेतृत्व पनि नेपाली कांग्रेसले नै गरेको चर्चा गरिन् ।
भवन तथा अन्य संरचनाहरूको निर्माण पनि एक प्रकारको विकासको सूचक हो भन्दै तर निर्माण भएका यी सरकारी सम्पत्तिको संरक्षण गर्न तथा समय समयमा तिनको मर्मत सम्भार गर्न पनि उनले सम्बद्ध व्यक्ति तथा पदाधिकारीलाई सुझाव दिइन् । उनले कुनै पनि संरचना निर्माण गरेर मात्र नहुने र ती भवन अथवा संरचनाहरूबाट नागरिकले स्थानीय स्तरमा दिइने सेवा सुविधाहरू प्राप्त गर्न पाउनुपर्ने धारणा पनि राखिन् ।
धनगढी उपमहानगरपालिकामा विकास निर्माणका कामहरू भइरहेका बताउँदै मन्त्री डा. राणाले भनिन्, ‘विकास निर्माण एक प्रक्रिया हो र यो विस्तारै हुँदै जान्छ । यस उपमहानगरमा यहाँका मेयरको नेतृत्वमा विकासका कामहरू भइरहेका छन्, मलाई खुशी लागेको छ ।’
गौरा पर्व मनाउन बुधबार बिहान धनगढी पुगेकी मन्त्री डा. राणाले धनगढीस्थित आफ्नो निवासमा पूजा गरेकी थिइन् । बिहान उनलाई धनगढी विमानस्थलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरू, प्रदेशका उच्च सरकारी अधिकारी तथा नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले स्वागत गरेका थिए ।




प्रतिक्रिया