विराटनगर – कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भोलि मंगलबारदेखि आमरण अनसन बस्दै घोषणा गरेका छन् ।
विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै पार्टीको झण्डा नराखी प्रदेशसभा भवनसामु आमरण अनसन बस्ने उनले जानकारी दिए ।
उनले बरु मर्न तयार हुने तर अनसन नछोड्ने बताए । ‘कांग्रेसले पनि समर्थन गर्छ । माओवादी, एमाले, एकीकृत र जसपाका साथीहरू सबै आउन सक्नुहुन्छ,’ उनले भने ।
आफूले उठाएको एजेण्डा जनताको एजेण्डा भएकाले सबैले सहयोग गर्ने उनको दाबी छ । आफ्ना समर्थकहरूबाट रिले अनसन, आमरण अनसन बस्छु भनेर प्रस्ताव आइरहेको पनि बताए । केही सामाजिक अभियन्ता पनि आमरण अनसनमा जुट्ने उनले बताए ।
कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष विभिन्न ९ वटा माग राख्दै आईतबार ४८ घण्टाको अल्टिमेटम दिएका थिए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई स्मरण पत्र पठाउँदै आफ्ना मागहरू ४८ घण्टाभित्र पूरा नगरे आमरण अनसन बस्ने उनले चेतावनी दिए ।
उनले १० वर्षमुनिका बालबालिकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम नियमित गर्नुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घ्यु तथा धूलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत् राख्नुपर्ने, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनीयर लगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जंगल निर्माण गर्नुपर्ने माग गरेका छन् ।




प्रतिक्रिया