कांग्रेसमा महामन्त्री थापासहित इतर समूहका नेता नै उपसभापति गुरूङमाथि छानबिनको पक्षमा

कांग्रेसमा महामन्त्री थापासहित इतर समूहका नेता नै उपसभापति गुरूङमाथि छानबिनको पक्षमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसमा सस्थापन इतरका नेताहरू नै उपसभापति धनराज गुरुङमाथि सहकारी प्रकरणमा छानबिन गर्नुपर्ने पक्षमा देखिएपछि पदाधिकारी बैठक छानबिन गर्नुपर्ने निष्कर्षमा पुगेको छ । बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा ललितपुरको मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा उपसभापति गुरूङ जोडिएकाले छानबिन गर्न पार्टीले अवरोध गर्न नहुँने कुरा उठेको थियो ।

धारणा राख्ने अधिकांश नेताहरूले गल्ती गरेको भए कारबाही भोग्नु पर्ने धारणा राखेपछि छानबिन हुन दिने निकर्षमा पदाधिकारी बैठक पुगेको हो । बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले उपसभापति गुरूङमाथि छानबिन गर्नेबारे भने, ‘उपसभापतिको विषयमा हामी प्रष्ट छौं, गल्ती गर्नु भएको हो भने सजाय भोग्नुहुन्छ । भोग्नुपर्छ ।’

गुरुङ १४ औँ महाधिवेशनमा डा शेखर कोइराला प्यानलबाट लडेर उपसभापति जितेका थिए ।

गुरुङले कुनै ठाँउमा गल्ती गरेको भए कांग्रेस छानबिन गराउन तयार हुने घिमिरेले बताए । ‘यदि कुनै ठाउँमा गल्ती भएको छ भने त्यो छानबिन गराउन कांग्रेस तयार छ,’ घिमिरेले भने।

मंगलबारको प्रतिनिधि सभामा गुरूङले आफूमाथि संसदीय छानबिन गर्न आग्रह गरेका थिए।

महामन्त्री गगन थापाले उपसभापति गुरुङको नाम सहकारीमा जोडिएकोले निष्पक्ष छानबिन गरिने बताइसकेका छन् । महामन्त्री थापाले कांग्रेस पार्टीका विधान, परम्परा, निर्णयहरूमा कुनैपनि प्रकरणमा कानून उल्लंघन गरेको भए उसले उन्मुक्ति पाउन नहुने उल्लेख रहेकाले त्यही व्यवस्था अनुसार गुरुङको हकमा पनि अगाडि बढिने बताएका थिए ।

शक्तिशाली, सत्तासिन, नाता पर्ने जो कोही भएपनि आरोप प्रमाणित भए दण्ड व्यहोर्नुपर्ने थापाको भनाइ छ । संसदमा नै उपसभापति गुरुङले सहकारी प्रकरणमा आफूमाथि छानबिन गर्न आग्रह गरेकाले संसदीय समिति बनाएर छानबिन गर्न झनै सहज भएको बताए।

‘नेपाली कांग्रेस पार्टीका विधान, परम्परा, हाम्रा निर्णयहरूले त्यो कुरा स्पष्ट पारेको छ र त्यही स्पष्ट पारेको कुरालाई पटक पटक हामीले दोहोर्याएका छौँ भने कुनैपनि प्रकरणमा, विषयमा, काममा यदी कसैले कानून मिच्दछ, कानून उल्लंघन गर्छ, दण्डनीय काम गर्दछ भने दोषी छ भने दोषीले उन्मुक्ति पाउनु हुँदैन। चाहे त्यो शक्तिशाली, सत्तासिन, नाता पर्ने होस्, चाहे जोसुकै होस्,’ थापाले भनेका छन् ।

पार्टीको विधानले नै अपराध गरेको भए दण्ड व्यहोर्नुपर्ने भनेकाले कांग्रेसका उपसभापतिको नाम सहकारीका विषयमा जोडिएर आएको बारेमा किन मौन बसेको भन्ने प्रश्न नै नहुने महामन्त्री थापाले बताए। ‘जहाँसम्म नेपाली कांग्रेसका उपसभापतिको नाम सहकारीका विषयमा जोडिएर आयो, उहाँ आफैंले यो प्रसंगमा आज संसदको बैठकबाट ममाथि प्रश्न उठेकाले अनुसन्धान होस् भन्नुभएको छ।’

आजको पदाधिकारी बैठकमा सहभागी एक नेताका अनुसार गुरुङमाथि छानबिन गर्न नहुने पक्षमा कोही पनि नेताले धारणा राखेका थिएनन् । संस्थापन इतरका नेताहरूको साथ पाउने आशामा रहेका गुरुण्कसैले पनि आफ्नो पक्षमा धारणा नराखेपछि निराश भएको एक नेताले बताए ।

उपसभापति एवं सांसद गुरूङ र उनकी पूर्वश्रीमती ज्योति गुरूङमाथि सहकारीको १४ करोड ८१ लाख रूपैयाँ अपचलनको आरोप लागेको छ।

ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरूङले सहकारीको बचत दुरूपयोगको छानबिन गर्न गठित संसदीय छानबिन समितिमा धनराज र ज्योति सगोलमा रहँदाकै बखत रकम दुरूपयोग भएको बयान दिएका हुन्।