विश्वकप क्रिकेट लिग २ : नेपाल र ओमानबीचको खेल रद्द

विश्वकप क्रिकेट लिग २ : नेपाल र ओमानबीचको खेल रद्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल र ओमानबीचको खेल रद्द भएको छ ।

क्यानडाको किङ्ग्स सिटीमा गए रातिका लागि तय भएको खेल वर्षाका कारण रद्द भएको हो । खेल रद्द भएपछि दुबै टोलीले एकएक अङ्क बाँडेका छन् ।

लगातार कमजोर प्रदर्शन गर्दै आएको नेपाल एक दिवसीय फम्र्याटमा जारी लिगमा हालसम्म कुनै पनि खेलमा जित हात पार्न सकेको छैन ।

पछिल्लो खेलमा पनि नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको थियो भने त्यसअघिका दुबै खेलमा पनि ओमान र क्यानडासँग पराजित भइसकेको छ ।

ओमानसँग अंक बाँडेपछि नेपाल तीन अंकसहित तालिकाको सातौँ स्थानमा यथावत छ ।

यसैगरी ओमान छैटौँ स्थानमा छ । युएई तालिकाको पुछारमा छ । युएईलाई हिजो अमेरिकाले १३४ रनले हराएको छ । यो जितसहित अमेरिकाले लिगको सुपर फोरमा स्थान पाउने सम्भावना बलियो भएको छ ।

८ खेलमा १२ अङ्क जोडेको अमेरिकाले ८ खेलमा १२ अंक नै जोडेको नेदरल्यान्ड्सलाई रन रेटमा पछि पार्दै दोस्रो स्थानमा उक्लेको हो ।

पहिलो स्थानमा रहेको क्यानडाको १४ अङ्क भए पनि ३ खेल बढी खेलेको छ । ७ खेल खेलेको स्कटल्यान्डको ९ अङ्क छ । पाँचौँ स्थानमा रहेको नामिबियाले ११ खेलमा ८ अंक जोडेको छ ।

घरेलु भूमिमै जारी अमेरिका र युएई सहितको श्रृङखलामा नामिबियाले खराब प्रदर्शन गर्दै तीन खेलमा नै हारको सामना गरेको छ । पुछारको टोली युएईले पनि नामिबियासँगको यसै सिरिजमा अंक बटुलेको हो ।

क्यानडामा जारी सिरिजमा क्यानडा र ओमानको एक खेल बाँकी छ । नामिबियामा भएको सिरिजमा नामिबिया र युएईको खेल बाँकी छ ।

एक महिनापछि अमेरिकामा हुने नेपाल र स्कटल्यान्डसहितको सिरिजले तालिकालाई एउटा बाटोमा लैजाने छ । सोही सिरिज नै नेपालका लागि महत्वपूर्ण साबित हुनेछ ।