काठमामाडौ – एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका विशिष्ठ पाहुना काठमाडौं आउनेक्रम बढेसँगै उपत्यकामा ठूलो संख्यामा सुरक्षा निकाय परिचालन गरिएको छ।
सम्मेलन र विशिष्ठ पाहुनाको सुरक्षाका लागि सुरक्षा निकायले तोकेरै बजेट माग गरेपनि सरकारको आवश्वासन र उधारोका भरमा सुरक्षाकर्मी खटेका छन्। गत भदौ दोस्रो साता काठमाडौंमा सम्पन्न बिमस्टेकको चौथो शिखर सम्मेलनको सुरक्षा प्रयोजनार्थ खटिएका सुरक्षाकर्मीलाई अझै बजेट उपलब्ध नगराएको सरकारले अहिले फेरी उधारोमा सुरक्षाकर्मी खटाएको हो।
बिमस्टेक सम्मेलन ताका नेपाली सेनाले सरकारसँग १० करोडका हाराहारीको बजेट माग गरेको थियो भने नेपाल प्रहरीले ३ करोड र सशस्त्र प्रहरी बलले ९२ लाख रुपियाँ माग गरेको थियो। ‘पटक–पटक ताकेता गर्दा पनि बिमस्टेक सम्मेलन हुँदाखेरीको बजेट अहिलेसम्म प्राप्त भएको छैन, हामीलाई त अहिले उधारोमा पो खटाइएको छ’–नेपाल प्रहरीका एक उच्च अधिकारीले भनेको खबर नेपाल समाचारपत्र दैनिकमा छ।
शनिवार र आइतवारका लागि तय भएको एसिया प्यासिफिक सम्मेलनका लागि नेपाली सेनाले ६ करोडका हाराहारीको बजेट माग गरेको सैनिक उच्च स्रोतले जनाएको छ। त्यसैगरी नेपाल प्रहरीले २ करोड ५० लाख बजेट माग गरेको छ भने सशस्त्र प्रहरीले ६५ लाख बजेट माग गरेको सशस्त्र प्रहरी वलका प्रवक्ता एवं नायव महानिरिक्षक सुरजकुमार श्रेष्ठले जानकारी दिए।
नेपाल प्रहरीले खाजा, भत्ता, इन्धन, गाडी मर्मत र अन्य भैपरी आउने खर्चका लागि अढाई करोडको बजेट माग गरेको प्रहरी वरिष्ठ उपरीक्षक उत्तम सुवेदीले बताउनुभयो । एसिया प्यासिफिक सम्मेलनको एकीकृत सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएको छ।




प्रतिक्रिया