काठमाण्डु – औषधि खरिदका क्रममा भ्रष्टाचार गरेको आरोपमा सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
बिहीबार अख्तियारले विशेष अदालतमा धनगढीमाईका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगाले, लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसाद, तत्कालीन स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, जिन्सी शाखा प्रमुख सम्पैत यादव र हेल्पिङ मल्टी प्रपोज प्रालि मैतीदेवीका प्रबन्ध निर्देशक माधवप्रसाद गौतमलाई प्रतिवादी बनाएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका लागि औषधि खरिद गर्दा प्रचलित मूल्यभन्दा बढीमा खरिद गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आरोपीहरूमाथि १७ प्रकारका औषधि खरिदमा ४ लाख ६० हजार ८१० रुपैयाँ बढी देखाएर भ्रष्टाचार गरेको आरोप छ ।
अख्तियारले प्रतिवादी सबैलाई जनही ४ लाख ६० हजार ८१० रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।




प्रतिक्रिया