कांग्रेस महामन्त्री थापाले किन परिवर्तन गरे पार्टीमा समूह ?

कांग्रेस महामन्त्री थापाले किन परिवर्तन गरे पार्टीमा समूह ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – २०७८ मंसिरमा भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा गगन थापाले डा. शेखर कोइरालाको प्यानलबाट उम्मेदवार भएर महामन्त्रीमा निर्वाचित भएका थिए । लोकप्रिय मतसहित थापा महामन्त्रीमा निर्वाचित हुँदा कोइराला भने शेरबहादुर देउवासँग पराजित भए ।

थापा पार्टीभित्र इतर समूहको नेतृत्व गरेका डा. कोइरालासँग गत असारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा कांग्रेससमेत सम्मिलित सरकार गठन हुँदासम्म साथमा थिए । थापाको सिफारिसमा कोइराला समूहबाट स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा प्रदीप पौडेल नियु्क्त भएका थिए । पौडेलले एक दिन अघिमात्रै महामन्त्री थापाका विश्वासपात्र प्रताप पौडेललाई विज्ञ सल्लाहकारमा नियुक्त गरेका छन् ।

तर, सरकार गठनपछि थापा विस्तारै पार्टीको संस्थापन समूहसँग नजिकिएका छन् । कोइराला समूह छोडेका छन् । निकटस्थ नेताहरूका अनुसार आजभोलि थापा डा. कोइराला समूहका गुटगत बैठकमा पनि सहभागी हुन्नन् । थापाले कोइराला समूह छोडेको बलियो प्रमाण विराटनगरमा समूहले आयोजना गरेको पार्टीका महानगर सभापतिहरूको भेलाबाट देखिएको छ ।

कोइराला समूहले पार्टी संस्थापनको रोक्ने अथक प्रयासका बाबजुद १८ मंसिरमा विराटनगरमा महानगर सभापतिहरूको भेला ग¥यो । त्यो भेलामा महामन्त्री थापा अनुपस्थित भए । त्यतिमात्र होइन थापाले पार्टी निर्णयविपरीत डा. कोइराला समूहले भेला गरेको भन्दै आलोचना समेत गरे ।

२२ मंसिरमा विराटनगरमै संस्थापनले गरेको महानगर सभापतिहरूको भेलामा भने महामन्त्री थापा सहभागी भए । थापाले सार्वजनिक रूपमा पार्टीभित्र गुटबन्दीबाट माथि उठ्नुपर्ने बताउँदै आएका छन् । थापाले आफू पार्टीमा गुटबन्दीको पक्षमा नभएको पटक–पटक सार्वजनिक रूपमा बताउँदै आएका छन् । उनले कांग्रेसलाई पार लगाउन अब गुटबन्दीको पुरानो रोगबाट माथि उठ्नुपर्ने बताउँछन् ।

शेखरले महामन्त्री थापा र आफूबीच खटपट नभएको सार्वजनिक रूपमा नै बताउँदै आएका छन् । थापासँगको सम्बन्धबारे डा. कोइरालाले केही दिन अगाडि चितवनमा भाषण नै गरेका थिए ।

‘म सभापतिमा उठ्ने क्लियर छ । गगनजी के गर्नुहुन्छ, उहाँको कुरा हो,’ शेखरले चितवनमा सञ्चारकर्मीसँग भनेका थिए, ‘उहाँले के गर्नुहुन्छ, उहाँसँग सोध्नुस् । हामीबीच खटपट छैन । केही कुरा भए बसेर मिलाउन सकिन्छ ।’

यता महामन्त्री थापाले निकटस्थहरूसँग डा. कोइरालाको आफ्नो बोलीमा अडान नभएको र नेतृत्वदायी क्षमता निर्वाह गर्न नसक्ने बताउँदै आएका छन् । डा. कोइरालाले वर्तमान सरकार निर्माण नहुँदासम्म कांग्रेस र एमाले मिलेर सरकार चलाउनु पर्ने सार्वजनिक रूपमै धारणा व्यक्त गरेका थिए । तर, अहिले कांग्रेस एमाले मिलेर सरकार बनाएपछि सरकारको विरोध गर्दै हिडेका छन् । यसमा थापाको असन्तुष्टी रहेको निकटस्थहरू बताउँछन् ।

पहिला आफूले नै कांग्रेस एमालेबीच सहकार्य हुनुपर्छ भनेर कोशी प्रदेश सरकारमा विद्रोह गराएका थिए । केदार कार्कीलाई एमालेको समर्थनमा मुख्यमन्त्री बनाएर प्रक्रिया सुरु गरेका डा.कोइरालाले अहिले सरकारको विरोध गर्नुको अर्थ नहुने पनि थापा निकटहरू बताउँछन् ।

यता, कोइराला निकट नेताहरू भने संस्थापनबाट सभापतिको उम्मेदवार बन्ने ख्वप देखेर थापा देउवासँग नजिकिएको बताउँछन् । कांग्रेसमा पार्टीका सबै तहका कार्यसमितिको म्याद २०८२ मंसिरमा सकिँदैछ । चार वर्षे कार्यकाल सकिनुपूर्व १५ औं महाधिवेशनको प्रक्रियामा पार्टीलाई लैजानु पर्ने भए पनि त्यो प्रक्रिया कांग्रेस नेतृत्वले सुरु गरेको छैन ।