काठमाण्डु – ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालसहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर श्रेष्ठ र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार आरोपीहरूलाई जनही ३ महिना कैद र १ लाख ५७ हजार ३६५ रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।
दोषी ठहर भएकामध्ये दाहाल सेवानिवृत्त भइसकेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुंगाका तत्कालीन इन्जिनीयर नवीन श्रेष्ठ र तत्कालीन सबइन्जिनीयर लोकबहादुर ठकुराठी दोषी ठहर भएका छन् ।
आर्थिक वर्ष ०७४/७५ मा गाउँपालिकामा सञ्चालित बीपी चोक, मिश्रभञ्ज्याङ, जौखोरिया, सिलुङ, चिलाउने र फतानेवारी सडकखण्ड निर्माण कार्यमा फिल्डको वास्तविक तथ्य बंग्याएको आरोप थियो । अदालतले कामभन्दा बढी मूल्यांकन गरेर परिमाणको झूटा बिल–भरपाइ गरेको ठहर गरेको छ ।
अख्तियारले जनही ९ लाख ४४ हजार १९५ बढी बिगो असूलउपर गर्न मागदाबी गर्दै २०८१ वैशाख २० गते मुद्दा दायर गरेको थियो । उनीहरूविरुद्ध राज्यको पदमा बसेर गरेको भ्रष्टाचारमा थप सजाय माग गरिएकोमा दाहालको हकमा दाबी नपुग्ने फैसला भएको छ ।
तत्कालीन इन्जिनीयर श्रेष्ठ र सबइन्जिनीयर ठकुराठीको हकमा ३ महिना कैद र थप १० हजार जरिवाना हुने फैसला भएको छ ।
तत्कालीन उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर थापा, सचिव पदमबहादुर कटवाल र कोषाध्यक्ष मिठुमाया गुरुङ खत्रीबाट १ लाख ५७ हजार ३६५ जरिवानासहित त्यति नै बिगो असूल गर्ने फैसला गरिएको छ ।




प्रतिक्रिया