अनेरास्ववियुले लोक सेवा र शिक्षक सेवाका निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने

अनेरास्ववियुले लोक सेवा र शिक्षक सेवाका निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने


काठमाण्डु – अनेरास्ववियु काठमाण्डु जिल्ला कमिटीले लोक सेवा आयोग र शिक्षक सेवा आयोगका लागि निःशुल्क रूपमा तयारी कक्षाहरू सञ्चालन गर्ने भएको छ ।

कमिटीको पुस १ गते बसेको तेस्रो पदाधिकारी बैठकले कक्षा सञ्चालनको निर्णय गरेको हो ।

बैठक अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाण्डु जिल्ला इन्चार्ज धर्मराज तिमिल्सिनाको प्रमुख आतिथ्यता र अध्यक्ष निराजन थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

युवालाई देशमै रोजगारीमा अभिप्रेरित गर्ने अभिप्रायले तयारी कक्षाहरू सञ्चालन गर्न लागेको अनेरास्ववियुले विज्ञप्तिमार्फत जनाएको छ ।

विभिन्न पेशा व्यवसाय, भौगोलिक विकटता वा अन्य विविध कारणले इन्स्टिच्युट पुग्न नसकेर सरकारी सेवा प्रवेश गर्न नसकेका युवालाई लक्षित गरी कक्षा सञ्चालन गर्न लागिएको जनाइएको छ ।

आयोगका विभिन्न पदका लागि अनलाइनमार्फत तयारी कक्षा सञ्चालन गरिनेछ । त्यसका लागि पुस १५ गतेभित्र गूगल फाराम भर्नुपर्नेछ ।

कक्षा सञ्चालनका लागि अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाण्डु जिल्ला इन्चार्ज धर्मराज तिमिल्सिनाले स्रोतसाधन जुटाउने जिम्मेवारी लिएका छन् । विकट र फरक क्षमता भएका, आर्थिक अभावमा रहेका देशभरिका युवा तथा पेशा, व्यवसायको कारण अध्ययनमा कम समय दिने युवाका लागि कक्षा सञ्चालन गर्न लागिएको तिमिल्सिनाले जानकारी दिए ।