गाउँपालिकाका तत्कालीन अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर, २ वर्ष कैद सजाय

गाउँपालिकाका तत्कालीन अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर, २ वर्ष कैद सजाय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विशेष अदालतले हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकायालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

परिवारका सदस्यको नाममा फर्म स्थापना गरी कृषि अनुदान दुरुपयोग गरेको आरोपमा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले मंगलबार रोकायालाई दोषी ठहर गरेको छ ।

अदालतले रोकायालाई २ वर्ष कैद सजाय तोक्दै ९ लाख ७५ हजार रुपैयाँ असुल्नुपर्ने र त्यति नै जरिवाना हुनुपर्ने फैसला गरेको छ ।

‘कृष्ण रोकायाले आफ्नै परिवारका सदस्य सम्मिलित उपभोक्ता समिति गठन गरी निजी नाममा कृषि फार्म दर्ता गरी प्रतिस्पर्धामा छनौट हुने गरी मापदण्ड बनाई कृषि अनुदान लिएको,’ फैसलामा भनिएको छ, ‘स्वार्थ बाझिने गरी सुनियोजित रूपमा आफ्नै फर्मलाई अनुदान प्राप्त गर्न भूमिका खेलेको देखिदा बदनियतपूर्वक भ्रष्टाचारजन्य कसूर गरेको देखिन्छ ।’

अदालतले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीलाई पनि दोषी ठहर गर्दै त्यति नै कैद, असुलउपर र जरिवानाको फैसला गरेको छ ।

भ्रष्टाचारको आरोप लागेका हंश रोकाया, सेतु रोकाया अनि तुलराज रोकायालाई १ वर्ष कैद र ४ लाख ८७ हजार रुपैंया जरिवाना भएको छ ।

गाँउपालिकाको उपाध्यक्ष जोसी धामी, इन्जिनीयर रामराज शाही, लेखापालहरू पूर्ण प्रसाद आचार्य र पदमबहादुर धामीले मुद्दामा सफाइ पाएका छन् ।