काठमाण्डु – प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले पदोन्नति भएका २८ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्नबाट सुशोभित गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरे ।
नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ माघ ९ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा २५ जना, गृह मन्त्रालय (सचिवस्तर) को २०८१ माघ ८ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायब उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक (एसपी) पदमा १ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा २ जना गरी जम्मा २८ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।
दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनेहरूमा प्रहरी वरिष्ठ उपरीक्षकहरू रमेश थापा, अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, विनोद सिलवाल, श्यामकुमार महतो, बेद बिष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जिसी, रन्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्र प्रसाद धमला, सन्तोष सिंह राठौर, संजयसिंह थापा, विमलराज कंडेल, महेन्द्र खड्का र प्रभु प्रसाद ढकाल रहेका छन् ।

प्राविधिक प्रहरी उपरीक्षक राजन सुवेदी तथा प्राविधिक प्रहरी नायब उपरीक्षकहरू बुद्वमाया लामा र विकास श्रेष्ठ समेत सुशोभित भएका छन् ।
दर्ज्यानी चिह्न सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दज्र्यानी चिह्नद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । पदोन्नतिसँगै पदीय दायित्व र जिम्मेवारी समेतको बढोत्तरी भएको चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त थप जिम्मेवारीलाई उत्कृष्ट ढंगले सम्पादन गर्दै नागरिकको सेवा र संगठनको बृहत्तर हितमा थप कटिबद्ध र जिम्मेवार भई कार्यसम्पादन गर्न उनले निर्देशन दिए ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले सकारात्मक सोच र ऊर्जाका साथ नागरिकको सेवा र संगठनको हितमा कर्तव्यनिष्ठ भई आ–आफ्नो जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
दर्ज्यानी चिह्न सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति थियो ।




प्रतिक्रिया