काठमाण्डु- माओवादी केन्द्रले झापाको कचनकवल गाउँपालिकाबाट हुलाकी राजमार्ग केन्द्रित अभियान सुरु गर्ने भएको छ । अभियान फागुन ३ गतेदेखि सुरु हुने माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
पार्टीको केन्द्रीय कार्यक्रम अनुसार झापाबाट अभियान सुरु गर्न लागिएको पनि गजुरेलले बताए ।
कचनकवलबाट सुरु हुने अभियान ६ महिनासम्म चल्ने छ । हुलाकी राजमार्ग केन्द्रित यो अभियान देशव्यापी हुने गजुरेलले बताए ।
उनका अनुसार कचनकबलबाट सुरु हुने अभियान महाकाली पुगेर पुनः मदन भण्डारी राजमार्ग केन्द्रित हुनेछ । त्यसपछि सोलुखुम्बुको सगरमाथाको फेदीमा पुगेर अभियान समापन हुनेछ ।
हुलाकी राजमार्ग केन्द्रित अभियानका लागि माओवादी केन्द्र झापाको पाँचौँ पूर्ण बैठकले कार्य विभाजन समेत गरेको छ ।
यो अभियानले पार्टी भित्रका अन्तरविरोध हटाउँदै पार्टीलाई मजबुत बनाउने दाबी उपमहासचिव गजुरेलको छ । ‘पार्टी कमजोर हुनुमा नेताका कमजोरी मात्र जिम्मेवार छैनन्,’ उनले भने, ‘नीतिगत त्रुटिले गर्दा पार्टी कमजोर भएको हो । हामी अब त्यसलाई सच्याएर अघि बढ्छौँ ।’




प्रतिक्रिया