नागार्जुनका निलम्बित मेयरविरुद्ध अर्काे भ्रष्टाचार मुद्दा दायर, ८ करोड ६९ लाख बिगो

नागार्जुनका निलम्बित मेयरविरुद्ध अर्काे भ्रष्टाचार मुद्दा दायर, ८ करोड ६९ लाख बिगो


काठमाण्डु – राजधानी काठमाण्डुको नागार्जुन नगरपालिकाका निलम्बित नगर प्रमुख (मेयर) मोहनबहादुर बस्नेतविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले ८ करोड ६९ लाख ८७ हजार १०५ रूपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मेयर बस्नेतले पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरीपछि अनुसन्धान गर्दा बस्नेत र उनका एकाघर परिवारका सदस्यले ८ करोड ६९ लाख ८७ हजार १०५ रूपैयाँ गैरकानूनी रूपमा आर्जन गरेको देखिएकाले मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

बस्नेत र उनको परिवारले अनुसन्धान अवधिमा २८ करोड ६५ लाख ६१ हजार ९६७ रूपैयाँ खर्च तथा लगानी गरेको जाँच अवधिको कूल समग्र आयबाट त्यसै अवधिको कूल खर्च तथा लगानी घटाउँदा ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको आयोगका सहसचिव एवं प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।

उनीविरुद्ध पुस १४ गते २२ करोडभन्दा बढी बिगो दाबीसहित घुस तथा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भइसकेको छ । मुद्दामा बस्नेत, उनकी पत्नी उर्मिला र पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेल, पद्मा कोलोनी र पद्मा मर्चेन्ट प्रालिलाई प्रतिवादी बनाइएको छ । बस्नेत नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापति हुन् ।