ओडिसामा प्रकृति लम्साल मृत्यु प्रकरण : होस्टेल फर्कन नेपाली विद्यार्थीले राखे ८ बुँदे सर्त

ओडिसामा प्रकृति लम्साल मृत्यु प्रकरण : होस्टेल फर्कन नेपाली विद्यार्थीले राखे ८ बुँदे सर्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) होस्टेलमा प्रकृति लम्साल मृत भेटिएको घटनापछि नेपाली विद्यार्थीले पीडितको गुनासो बेवास्ता गर्नेहरूमाथि कारबाही गर्न माग गरेका छन् ।

नेपाली विद्यार्थीहरुले भारतीय पक्षबाट असुरक्षित महसुस भएको भन्दै आफ्ना सर्त हरु पुरा नभए होस्टेल नफर्किने बताएका हुन् ।

उनीहरुले पुनः होस्टेल फर्किएर पढाइ जारी राख्नका लागि ८ बुँदे सर्त राखेका छन् ।

यस्ता छन् ८ सर्त

१. न्याय सुनिश्चित गरिनुपर्छ । घटनामा संलग्न दोषीहरूलाई कानुनअनुसार कारबाही गरिनुपर्छ ।

२. प्रहरी अनुसन्धान गरिनुपर्छ । होस्टल वार्डेन र विश्वविद्यालयका अधिकारीहरूले प्रहरी आउनुअघि नै पीडितको शव आफ्नो नियन्त्रणमा लिई उचित प्रक्रिया उल्लंघन गरेकाले उनीहरूमाथि अनुसन्धान हुनुपर्छ ।

३.पीडितको गुनासो बेवास्ता गर्नेहरूमाथि कारबाही हुनुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा पीडितले पटक–पटक पेश गरेका कागजातहरूको विस्तृत अनुसन्धान हुनुपर्छ । ती गुनासोहरू बेवास्ता गर्ने वा नजरअन्दाज गर्ने व्यक्तिहरूलाई जिम्मेवार ठहराई जागिरबाट हटाइनुपर्छ ।

४.नेपालको राष्ट्रिय छविमा हमला गर्ने शिक्षकहरूलाई निलम्बन गर्नुपर्छ । छात्रावासभित्र केही महिला शिक्षकहरूले नेपालको राष्ट्रिय बजेटलाई कलेजको खर्चसँग तुलना गर्दै उपहास गरेको व्यवहार पूर्णरूपमा अस्वीकार्य छ । यस्तो गैरजिम्मेवार रवैया देखाउने व्यक्ति कुनै शैक्षिक संस्थामा कार्यरत रहन नपाउने व्यवस्था गर्नुपर्छ ।

५. विद्यार्थीहरूमाथि आक्रमणको आदेश दिने उच्च अधिकारीले सार्वजनिक रूपमा माफी माग्नुपर्छ । साथै, उनीहरूले आफ्नो जिम्मेवारी स्वीकार्नुपर्छ र कानुनी कारबाहीको सामना गर्नुपर्छ ।

६.सीसीटीभी फुटेज सार्वजनिक गरिनुपर्छ । फेब्रुअरी १७ तारिख बिहान ८ बजेपछि भएको घटनाको सीसीटीभी फुटेज प्रहरीले प्राप्त गर्नुपर्नेछ । फुटेजमा विद्यार्थीहरूलाई आक्रमण गरिरहेका देखिएका व्यक्तिहरूलाई कानुनअनुसार कारबाही गरिनुका साथै तिनलाई तत्काल जागिरबाट हटाइनुपर्छ ।

७.विद्यार्थीहरूको यातायात खर्च क्षतिपूर्ति गरिनुपर्छ । होस्टलबाट विद्यार्थीहरूलाई अज्ञात स्थानमा लगेर छोडिएको हुँदा उनीहरूले घर फर्किनका लागि गरेको खर्च कलेजले बेहोर्नुपर्छ ।

८.कलेज प्रशासनले आफ्नो गल्ती स्वीकार गर्नुपर्छ । साथै, कलेजले जारी गरेको प्रेस विज्ञप्ति (विद्यार्थीहरू स्वेच्छाले होस्टल छोडेको दाबी गरिएको) झूटो भएको स्वीकार गर्दै वास्तविकता (विद्यार्थीहरूलाई जबरजस्ती कुटपिट गर्दै बाहिर निकालिएको)लाई सार्वजनिक रूपमा स्वीकार गर्नुपर्छ ।

सार्वजनिक सूचनाअनुसार केआइआइटीमा हाल एक हजारभन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत छन् । घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दा भारतीय पक्षबाट कुटपिट र दुर्व्यहार भोगेका उनीहरुलाई सोमबार दिउँसो विश्वविद्यालय प्रशासनले दबाब दिएसँगै नेपाली विद्यार्थीहरू नेपाल फर्किन वा अन्यत्र सर्न बाध्य भएका थिए ।

यस्तै लम्साल होस्टेलमा मृत भेटिएको घटना अनुसन्धान गर्न अखिल भारतीय विद्यार्थी परिषद्ले माग गरेको छ।

विज्ञप्ति जारी गर्दै भनिएको छ, ‘अखिल भारतीय विद्यार्थी परिषद्‌ले ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० मा नेपाली विद्यार्थी प्रकृति लम्सालको दुर्भाग्यपूर्ण मृत्युमा गहिरो समवेदना व्यक्त गर्दछ र घटनाको निष्पक्ष र पूर्ण अनुसन्धानको माग गर्दछ।’