काठमाण्डु– बाल यौन दुरूपयोग गरेका आफूलाई ‘लिटल बुद्ध’ बताउने रामबहादुर बमजनविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।
सरकारी वकिलले सर्लाही जिल्ला अदालतमा ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेका हुन्। बमजनविरूद्ध सोमबार मुद्दा दायर भएको जिल्ला न्यायाधिवक्ता नारायणप्रसाद घिमिरेले जानकारी दिए।
चितवनमा रहेको बमजनको ६४ लाख बराबरको जग्गा र बरामद भएको रकम समेतलाई कायम गरी मुद्दा दायर भएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बमजनलाई लामो समयको अनुसन्धानपछि २०८० पुस २४ गते पक्राउ गरेको थियो।
उनलाई काठमाडौंबाट पक्राउ गर्दा विभिन्न १७ वटा देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरका मुद्रा र ३ करोड ३४ लाख नेपाली नगद बरामद गरेको थियो।
अदालतले गत असार १७ गते जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई १० वर्ष कैद सजाय सुनाएको थियो भने पीडितलाई बालिकालाई ५ लाख क्षतिपूर्ति दिन पनि भनेको थियो।




प्रतिक्रिया