काठमाण्डु – शहरी क्षेत्रका बजार फराकिलो पार्ने योजना बनाउँदै कतिपय महानगर र उपमहानगरपालिकामा डोजर चलाएर मेयरहरूले वाहवाही बटुलिरहेका बेला कञ्चनपुरको ग्रामीण क्षेत्र बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले डोजर फेसनको नक्कल गर्न थालेका छन् ।
जनघनत्व र सवारीसाधनको ओहोरदोहोर खासै नहुने ग्रामीण क्षेत्रका बजारका सडकलाई २४ मिटर बनाउन पक्की संरचना नै भत्काउन तम्सिएपछि बेलडाँडीमा विरोध भएको छ । कुनै अध्ययन नगरी, पालिकाले कुनै योजना नबनाई ठाडो आदेशको भरमा डोजर चलाएर सर्वसाधारणको घर भत्काउने कार्यको उपाध्यक्ष शान्ति नाथले विरोध गरेकी छन् ।
संघीय सरकारको योजनाअन्तर्गत सडकलाई १२ मिटर स्तरोन्नति गर्नुपर्ने भए पनि पालिका अध्यक्ष रानाले यहीँ मौकामा सर्वसाधारणका घर भत्काएर चर्चा कमाउने चक्कर सुरु गरेको आरोप छ । ‘अहिले बेलडाँडीको चौबन्नी बजारमा १२ मिटर चौडा सडक मात्रै आवश्यक हो, सोही क्षेत्रमा पोहोरसाल १ करोड खर्च गरेर १२ मिटर सडक राखेर नाली बनाइएका छन्,’ उपाध्यक्ष नाथले भनिन्, ‘साविककै नालीको क्षेत्रभित्र पर्ने गरी सडक स्तरोन्नति गर्न सकिन्छ तर अध्यक्षज्यूले एकलौटी गर्दै बजारका घरहरू भत्काउन डोजर चलाइराख्नुभएको छ ।’
‘आवश्यकता नै नभएको ठाउँमा जनताका घर–पसल भत्काउनु हुँदैन । तर स्थानीय तहमा अध्यक्षलाई एकतर्फी अधिकार हुने रहेछ, अध्यक्षले जे गरे पनि हुने देखियो,’ उनले भनिन्, ‘कार्यपालिकामा बाटो खोल्ने भनेर सामान्य निर्णय गराए, बाटो कति मिटर बनाउने भन्ने केही निर्णय भएन । अहिले आएर व्यक्तिगत आदेशमा २८ मिटरको कुरा गर्दैछन् ।’
आवश्यक रहेको १२ मिटर सडक स्तरोन्नतिको कार्य गर्न सर्वसाधारणको पनि समर्थन रहेको अवस्थामा अध्यक्ष रानाले जबरजस्ती घरहरू भत्काउने रणनीति बनाएको उनको आरोप छ । ‘यो गाउँको बजार हो, जेठ–बैशाखमा यहाँका सडकहरू सुनसान हुन्छन् । गाउँमा हिँड्ने मान्छे सबै विदेश गइसके, जनताका घर भत्काएर अनावश्यक फराकिलो सडक किन बनाउनुपर्यो ?’ उनले भनिन्, ‘जबरजस्ती २८ मिटर लिँदा जनताको उडिबास हुन्छ । यसबारे हामीसँग कुनै सल्लाह छैन, घर भत्काउने निर्णयमा मैले असहमति जनाएको छु ।’
ग्रामीण सडक १२ मिटरलाई २८ मिटर बनाउँदा पसल र घर गरी ४०० घरधुरी प्रभावित हुने उनले बताइन् । स्थानीय चुनावमा अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेसबाट निर्वाचित भए पनि कार्यसञ्चालनका क्रममा अध्यक्ष र उपाध्यक्ष विभाजित भएका छन् ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा बेलडाँडीका वासिन्दा अभिमान थापाले पालिका अध्यक्ष रानाले असमान तरिकाले काम गरिरहेको गुनासो गरे । ‘अध्यक्षज्यूले कतै २८ मिटर बाटो बनाउँछु भन्नुहुन्छ, कतै १२ मिटर नै बन्छ भन्नुहुन्छ । घरधनी मान्ने छानीछानी घर भत्काउने कि नभत्काउने भन्ने तयारी गरेको देखियो । यस्तो विभेदकारी नीति बनाएर लाखौंका घर भत्काउनु बिडम्बना हुन्छ । गाउँपालिकाको एकै किसिमको नीति हुनुपर्यो ।’
गाउँपालिका अध्यक्ष रानाले सर्वसाधारणका घर भत्काउन पठाएको डोजरलाई विरोध गरेर फर्काइएको उनले बताए । ‘घर भत्काउन डोजर आएको थियो, वडाध्यक्ष, उपाध्यक्ष र सर्वसाधारण सबैले विरोध गरेपछि अहिले डोजर गएको छ, अब सीडीओ सापले छलफल गरेर सहमति जुटाएपछि सडकको काम अगाडि बढ्ने कुरा भयो ।’
ग्रामीण सडकमा कम क्षति गरेर सडक बनाउन सकिने विकल्प हुँदाहुँदै पालिका अध्यक्ष रानाले केही व्यक्तिको घर भत्काउने नियतका साथ २८ मिटर सडक बनाउने कुरा ल्याएको स्थानीयको गुनासो छ । बेलडाँडी बजारदेखि कालिकिच तालसम्म सडक स्तरोन्नति गर्ने योजनाअन्तर्गत काम भइरहेको छ ।
सडक फराकिलो गर्ने विवादबारे प्रतिक्रिया लिन गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानालाई टेलिफोन सम्पर्क गर्दा उनले फोन उठाएनन् ।




प्रतिक्रिया