अन्तर्घातले एमाले पहिलो पार्टी बन्न सकेन : उपमहासचिव गुरुङ

अन्तर्घातले एमाले पहिलो पार्टी बन्न सकेन : उपमहासचिव गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रको दक्षिणपन्थी अवसरवाद अन्त्य नगर्दासम्म एमालेलाई पहिलो राष्ट्रिय शक्ति बनाउन नसकिने बताएका छन् ।

बुधबार काठमाण्डुमा प्रेस चौतारी नेपाल एशोसियट प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा बोल्दै गुरुङले आफूलाई मात्रै शुद्ध ठान्ने र अरूलाई पार्टीमा ल्याउन नचाहने प्रवृत्तिले पार्टी बलियो नबन्ने बताए । पार्टीमा ल्याएकालाई पनि यथोचित जिम्मेवारी दिनुपर्ने र पूर्वाग्रहरहित व्यवहार गर्नुपर्नेमा उनले जोड दिए ।

संकीर्ण सोच र विचारले पार्टी अघि नबढ्ने गुरुङले स्पष्ट पारे । ‘आफूलाई मात्रै शुद्ध ठान्ने र अरूलाई ल्याउन नचाहने, ल्याउँदाखेरी पनि जिम्मेवारी यथोचित नदिने, अहिले पनि हेपिराख्ने, पूर्वाग्रह राखिराख्ने यो संकीर्णवादले आजको कम्युनिष्ट आन्दोलन कमजोर बनाएको छ,’ उनले भने ।
चुनावमा आफूले टिकट पाएन भने आफ्नो पार्टीको उम्मेदवारलाई नै हराउन लागि पर्ने प्रवृत्ति पार्टीभित्र छ्यापछ्याप्ती भेटिने गुरुङले बताए । आफैंभित्रको अराजकताले जनताले प्रदान गरेको विश्वासलाई पुँजीकृत गर्न नसके एमाले बलियो पार्टी बन्न नसक्ने उनको धारणा छ ।

‘चुनावमा आफूले टिकट पाएन भने आफ्नो पार्टीको उम्मेदवारलाई हराउन लाग्ने अहिले हाम्रो पार्टीभित्र छ्यापछ्याप्ती पाइन्छ । हुलमा हिँड्यो भने त्यस्ता अराजक मान्छेहरू धेरै ठोकिन्छन्, संगठनभित्र यस्तो भएपछि चुनाव जितिन्छ ?’ उनले प्रश्न गरे ।

जनताले गरेको विश्वासलाई सुरक्षित राख्न सक्नुपर्ने गुरुङले बताए । आफैंभित्रको अराजकताले जनताले प्रदान गरेको विश्वासलाई पुँजीकृत गर्न नसके पार्टीले जित्न नसक्ने उनको भनाइ छ ।

गुरुङले पार्टीभित्रको अन्तर्घातकै कारणले गएको स्थानीय तहको निर्वाचनमा एमाले पहिलो पार्टी बन्न नसकेको बताए । पार्टीभित्रकै अन्तर्घातको कारणले एमालेले ८२ ठाउँमा चुनाव हारेको उनको भनाइ छ । ‘गएको स्थानीय तहको चुनावमा ७५३ पालिकामध्ये ८२ वटामा हामीभित्रकै आन्तरिक विवादको कारणले हार्‍यौं, हाम्रो उम्मेदवारलाई हाम्रै साथीहरूले असहयोग गरेको कारणले, आफूले टिकट नपाउने बित्तिकै कोही कांग्रेसतिर लागिदिए, कोही कांग्रेसलाई पैसा हाल्न थाले, अहिले हाम्रो २ सय ६ सिट छ, ८२ थपिएको भए २ सय ८८ हुन्थ्यो, कांग्रेस र माओवादीको सिट घट्थ्यो, हामी पहिलो पार्टी बन्थ्यौं,’ उनले भने ।

स्थानीय तहको निर्वाचनकै कारणले संघको निर्वाचनमा पनि एमालेले लक्ष्यअनुसार सफलता प्राप्त गर्न नसकेको उनले सुनाए । पार्टीभित्र सबैले सहयोग गरेको भए एमालेले १०० सिटमा चुनाव जित्ने उनले बताए ।