परराष्ट्रमन्त्री डा. राणा जेनेभा प्रस्थान

परराष्ट्रमन्त्री डा. राणा जेनेभा प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औं उच्चस्तरीय सत्रमा भाग लिन शनिबार स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा प्रस्थान गरेकी उनलाई शनिबार साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गरे ।

फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने उच्चस्तरीय सत्रलाई मन्त्री डा. देउवाले १२ गते सम्बोधन गर्नेछिन् ।

उनले विभिन्न देशका समकक्षीहरूसहित राष्ट्रसंघीय निकायका प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्नेछिन् । भ्रमणका क्रममा मन्त्री डा. देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७ देखि २०२९ सम्मको कार्यकालका लागि नेपालले दिएको उम्मेदवारीका पक्षमा समर्थनका लागि पहल गर्ने उनको सचिवालयले जनाएको छ ।

मन्त्री डा. देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका वरिष्ठ अधिकारीहरू सम्मिलित छन् । उनी फागुन १६ गते स्वदेश फर्किने कार्यक्रम छ ।