बेलडाँडीका अध्यक्षको ज्यादती संसद्मा गुञ्जियो, सांसद तामाङद्वारा भर्त्सना

बेलडाँडीका अध्यक्षको ज्यादती संसद्मा गुञ्जियो, सांसद तामाङद्वारा भर्त्सना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले सडक विस्तारको नाममा सर्वसाधारणका घर भत्काउँदै गरेको ज्यादतीको विरोधमा प्रतिनिधिसभा सांसद तारा लामा तामाङले संसद्मा आवाज उठाएका छन् ।

नक्साको यकिन नगरी गाउँपालिका र स्थानीय प्रशासनले ज्यादती गर्दा स्थानीय वासिन्दा घाइते भएकोमा विरोध जनाउँदै सांसद तामाङले घाइतेको उपचार गर्न र दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।

‘हामीले प्रजातन्त्र दिवस मनायौं तर मेरो निर्वाचन क्षेत्रमा ७५औं प्रजातन्त्र दिवस मनाएको ठ्याक्कै १ दिनपछि ८ र ९ गते कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा स्थानीय प्रशासनको बलले गर्दा त्यहाँको पालिकाको पचुईं र गौंडी भन्ने ठाउँको वासिन्दाहरू, त्यहाँको बजार र बस्ती हटाउने नाममा बल प्रयोग गरेर हरुदेवी बिष्ट, बलबहादुर बुढा, भारती बुढा, बिरमान बुढा, लक्ष्मी थापा मगर, रामकली थापा मिना खड्का, अमृता बुढा लगायत दर्जनौं मान्छेलाई घाइते बनाएको छ,’ उनले भने, ‘२०५४ र त्योभन्दा अगाडिको दुईटा नक्सा, नक्सा अलग–अलग छन् । बाटो छुट्याउने नाममा त्यहाँ एकदम ज्यादती भा’को छ र त्यहाँको स्थानीय जनप्रतिनिधि उपाध्यक्षसहित राजनीतिक दलका साथीहरूले हाम्रो नक्सा यकिन गरेर मात्र यो काम गर्छाैं, एकछिन रोक्नु भन्दाभन्दै स्थानीय जनप्रतिनिधि र स्थानीय राजनीतिक दल भाँडमा जाओस् भनेर त्यहाँको स्थानीय प्रशासनले त्यस्तो गरेको छ र अहिले चारैतिरको दबाबपछि रोकेको छ ।’

स्थानीय प्रशासनले माथिको आदेश भन्दै सर्वसाधारणका घर भत्काएको बताउँदै उनले गृहमन्त्री रमेश लेखकमाथि पनि प्रश्न गरे । ‘माथिको आदेश भन्दै त्यस्तो गरेको छ, त्यसकारणले माथिको आदेश भनेको कञ्चनपुरबाट प्र्रतिनिधित्व गर्ने गृहमन्त्रीज्यू हुनुहुन्छ, गृहमन्त्रीज्यूले सायद त्यस्तो आदेश दिनुभएन होला भन्ने हामीलाई लाग्छ तर त्यहाँको स्थानीय प्रशासनले त्यसरी आदेश भनेर त्यहाँको बालबच्चा र घरबार सबको तहसनहस गर्ने ?’ उनले भने, ‘जबकी कञ्चनपुरमा अहिले पनि बाढीले समस्याग्रस्त छन्, भर्खरै जंगली जनावरले आतंकित बनाएको छ, दक्षिणमा सीमाना विवादले त्राहिमाम् छन्, लागूऔषधको चपेटामा परिराखेको र भर्खरै गएको बाढीले त्राहिमाम् भएर सुरक्षित ठाउँमा बस्ती बस्नुपर्ने, बसाउनुपर्ने, जनतालाई राहत दिनुपर्ने बेलामा उल्टो ४०औं वर्षदेखि बसेको बस्ती हटाउने नाममा ज्यादती भएको छ ।’

सर्वदलीय सहमतिमा बेलडाँडीका बजारलाई सुव्यवस्थित गर्न काम गर्नुपर्ने उनले बताए । उनले भने, ‘त्यसकारणले बेलडाँडी गाउँपालिकामा भएको ज्यादतीको म घोर भत्र्सना गर्छु । गौंडी र चबन्नी बजार लगायतलाई सुव्यवस्थित गर्न स्थानीय सर्वदलीय, राजनीतिक दल र जनप्रतिनिधिले दिएको निचोड मान्न स्थानीय प्रशासनलाई अनुरोध गर्छु र घटनामा घाइते भएकालाई उपचार गर्न र दोषीलाई कारवाही गर्न म नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’

गाउँपालिका उपाध्यक्ष शान्ति नाथ लगायत जनप्रतिनिधिले आपत्ति जनाउँदा पनि अध्यक्ष रानाले एकलौटी गर्दै सर्वसाधारणका घर भत्काउन खोजेका थिए ।

डोजर चलाउने ‘फेसन’ : बेलडाँडीका अध्यक्षको सनकले सयौं घरमा उठीबासको त्रास