काठमाण्डु – नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन–कुन शीर्षकमा कति सहयोग प्राप् भयो भनेर सरकारले प्रतिवेदन तयार गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको आईतबारको बैठकमा विशेष समयमा उनले अमेरिकाबाट नेपालमा एजेन्सी, दूतावास, सरकारमार्फत सहयोग कति र कुन शीर्षकमा आयो सोबारे प्रतिवेदन बनाउन जरुरी भएको बताए ।
‘अमेरिकाबाट के कति सहयोग आएका छन्, अहिले ती सहयोगको अवस्थाबारे जानकारीसहित प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । नेपालको अन्तरराष्ट्रिय छवि र राष्ट्रिय भावनामा चोट पुर्याउने काम कहीँकतैबाट हुनु हुँदैन,’ सांसद बाँस्कोटाले भने, ‘नेपालले अमेरिकी सहयोगका सन्दर्भमा ठगी गरेको हो वा उहाँहरूले गर्नुभएको हो ? सोबारे स्पष्ट हुनु जरुरी छ ।’
अहिलेको अवस्थाबाट नेपालले स्पष्ट नीति बनाएर अघि बढ्नुपर्ने आवश्यकता भएको उनले बताए । ‘नेपालले कुन सहयोग लिने वा कुन सहयोग नलिने विषयमा स्पष्ट हुनुपर्छ,’ उनले भने ।
सांसद बाँस्कोटाले सन् २००२ देखि सन् २०२१ सम्म करीब २१ खर्ब र सन् २०२२ देखि २०२७ सम्म ६६९ मिलियन अमेरिकी डलर नेपालले सहयोग प्राप्त गर्ने भन्ने विषयबारे सरकारले अध्ययन गरी एउटा प्रतिवेदन बनाउनुपर्ने बताउँदै उनले प्रतिवेदनमा कति–कति रकम कहाँ खर्च भयो भन्ने स्पष्ट आउनुपर्ने बताए ।
उनले भने, ‘कुन सरकार हुँदा के भयो भनेर हिलो छ्याप्नुभन्दा अब नेपाल समृद्ध र सबल बनाउनका लागि सबै मिलेर योजनाबद्ध काम गर्नुपर्छ । प्राप्त सहयोग र खर्च सम्बन्धी सम्पूर्ण जानकारी सांसद् र आमनागरिकले थाहा पाउनुपर्छ ।’
लोकतान्त्रिक गणतन्त्रको रक्षा गरी मुलुकलाई समृद्ध बनाउन आपसी सहकार्य र समन्वयको आवश्यकता रहेको उनले औंल्याएका छन् ।




प्रतिक्रिया