काठमाण्डु – राजधानी काठमाण्डुको तार्केश्वर नगरपालिका–४ माछापुछ्रे चोकबाट सोमबार स्कुटर चोरीमा संलग्न १ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
दोलखाको मेलुङ गाउँपालिका–४ घर भई हाल काठमाण्डुको बालाजु बस्ने २५ वर्षीय कुशाङ गोले तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बागमती प्रदेश ०२–०४२ प ८३ ०७ नम्बरको स्कुटर काठमाण्डुको तार्केश्वर नगरपालिका–४ माछापुछ्रे चोकमा चलाइराखेको अवस्थामा तामाङलाई ट्राफिक प्रहरीले सोमबार दिउँसो नियन्त्रणमा लिएको थियो । स्कुटर काठमाण्डुको टोखा नगरपालिका–५ शिव मन्दिरबाट हराएको भनी सिता पाण्डे भुसालले काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएकी थिइन् ।
नियन्त्रणमा आएका तामाङलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सञ्जय बहादुर राउतले जानकारी दिए ।
आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न समेत प्रवक्ता प्रहरी उपरीक्षक राउतले सम्पूर्णमा अनुरोध गरे । हराएका सवारीसाधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए तापनि सवारी धनी स्वयं सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिएको छ ।
सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारीसाधनको विवरणसहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ ।




प्रतिक्रिया