काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले धनी विदेशीहरूलाई अमेरिकामा स्थायी बसोबास तथा नागरिकताको मार्ग प्रशस्त हुने गरी ५० लाख डलर पर्ने ‘गोल्ड कार्ड’ भिसाको योजना घोषणा गरेका छन् ।
ट्रम्पको भनाइ के छ भने धनी विदेशीहरूले धेरै पैसा खर्च गर्छन्, धेरै कर तिर्नेछन् र धेरै जनालाई रोजगारी दिनछन् । त्यसैले उनले ‘गोल्ड कार्ड’ भिसाको योजना घोषणा गरेका हुन् । ‘हामीलाई लाग्छ यो उपाय निकै सफल हुने छ,’ मगंगलबार ओभल अफिसमा बोल्दै ट्रम्पले भनेका थिए ।
प्रस्तावित ‘गोल्ड कार्ड’ले विद्यमान ईबी–५ लगानीकर्ता भिसा योजनालाई विस्थापित गर्ने छ । उक्त भिसा विदेशी लगानीकर्तालाई दिइँदै आएको छ ।
‘गोल्ड कार्ड’ भिसा लिनका निम्ति रोजगार सिर्जनासम्बन्धी कुनै सर्त छैन । बस पैसा भए पुग्छ ।
ईबी–५ भिसाको संख्या सीमित हुन्छ तर ‘गोल्ड कार्ड’ १ करोडको संख्यामा बिक्री गर्न सकिने र त्यसले संघीय सरकारको घाटा कम हुने ट्रम्पको विश्वास छ ।
‘यो नागरिकताको मार्ग हुनेछ । धेरै सम्पत्ति भएका मानिसहरू वा धेरै प्रतिभाशाली मानिसहरू अमेकिा आउने छन् । कम्पनीहरूले त्यस्ता प्रतिभाशाली मानिसहरूलाई ल्याउन र दीर्घकालीन हैसियत दिलाउन पैसा तिर्ने छन्’, योजना सुनाउँदै ट्रम्पले भनेका थिए ।
यद्यपि ‘गोल्ड कार्ड’ भिसा पाएकाहरूले नागरिकताका लागि कति समय पर्खनुपर्छ भनेर स्पष्ट पारिएको छैन । ग्रीनकार्ड भएका–ईबी–५ योजना अन्तर्गतका समेत गरी विदेशीहरू अमेरिकामा कम्तीमा ५ वर्ष वैध स्थायी बासिन्दाका रूपमा बिताएपछि नागरिकताका निम्ति योग्य ठहरिन्छन् ।
अमेरिकामा नागरिकताको योग्यता त्यहाँको संसद्ले तोक्छ । तर ट्रम्पले ‘गोल्ड कार्ड’का निम्ति संसदको स्वीकृति आवश्यक नपर्ने बताउँछन् ।
अमेरिकी संसद कंग्रेसले विदेशी लगानी भित्र्याउनसन् १९९० मा ईबी–५ को स्थापना गरेको हो । करिब १० लाख डलर लगानी गरेर त्यो व्यवसायबाट रोजगारीका कम्तीमा १० वटा अवसर सिर्जना गर्ने व्यक्ति उक्त योजनाका निम्ति योग्य हुन्छन् ।
यस कार्यक्रमअन्तर्गत लगानी गरेको बदलामा लगानीकर्ताले तत्कालै ग्रीनकार्ड पाउँथे र उनीहरूका लागि अन्ततः नागरिकता प्राप्त गर्ने बाटो खुल्थ्यो ।
सन् २०२२ मा करिब ८,००० विदेशीले लगानीकर्ता भिसा लिएका थिए ।
अरू देशमा पनि नागरिकता बिक्री
अमेरिकाको ‘गोल्ड कार्ड’का जस्ता योजना विश्वभरि नै प्रचलित छ । केही क्यारिबिअन देशमा ‘गोल्डन पासपोर्ट’ पनि उपलब्ध छ । जसमार्फत् धनाढ्य व्यक्तिहरूलाई काम गर्न र भोट हाल्न समेत पाउने गरी नागरिक सरहका सबै अधिकार र स्वतन्त्रता दिइन्छ ।
बेलायतको परामर्शदातृ कम्पनी हेन्ले एन्ड पाट्र्नर्सका अनुसार १००भन्दा धेरै देशहरूले धनीहरूलाई ‘गोल्डन भिसा’ दिइरहेका छन् । तिनमा अमेरिका, बेलायत, स्पेन, ग्रीस, माल्टा, अस्ट्रेलिया, क्यानडा र इटली छन् । तर यी कार्यक्रमहरूको धेरै आलोचना पनि भएको छ ।
‘यी कार्यक्रमले प्रत्यक्ष विदेशी लगानी भित्र्याएर आर्थिक वृद्धिमा तीव्रता ल्याउन सक्छ तर यसले न्याय छल्न र अर्बौ डलर बराबरका अपराधबाट कमाएको सम्पत्ति शुद्धीकरण गर्न उद्यत अपराधी वा भ्रष्ट अधिकारीहरूलाई आकर्षित गर्छ,’ अर्गनाइजेशन फर इकनमिक कोअपरेशन एन्ड डेभलपमन्ट (ओईसीडी)ले सन् २०२३ मा प्रकाशन गरेको प्रतिवेदनमा उल्लेख छ ।
एक सयभन्दा धेरै देशहरूमा भ्रष्टाचारविरुद्ध कार्यरत संस्था ट्रान्स्पर्यान्सी इन्टन्र्याश्नलले युरोपेली युनियनमा रहेका यस्ता भिसा कार्यक्रमहरू वास्तविक लगानी वा आप्रवासनभन्दा पनि भ्रष्ट स्वार्थपूर्तिका निम्ति भएको जनाएको छ ।
यी चिन्ताहरूका माझ बेलायत, स्पेन, नेदरल्यान्ड्स र ग्रीसजस्ता कतिपय युरोपेली देशहरूले ‘गोल्डन भिसा’ योजना बन्द गरेका छन् ।
यी देशहरूमा किन्न सकिन्छ नागरिकता
पोर्चुगल : ५ लाख यूरो
ग्रीस : २.५ लाख यूरो
ग्रेनाडा : २ लाख ३५ हजार यूरो
टर्की : ४ लाख डलर
क्यनाडा : २ लाख ६० हजार डलर




प्रतिक्रिया